मन्त्रीपरिषद् विस्तार : कांग्रेस, एस र नाउपा सहभागी
मन्त्रीपरिषद विस्तार भएको छ । नेपाली कांग्रेस, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीसमेतको सहभागीतामा मन्त्रीपरिषद् विस्तार भएको हाे । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा पुस १० गते गठन भएको मन्त्रिपरिषद्मा शुक्रबार व्यापक हेरफेर भएको हो। हेरफेरसँगै मन्त्रिपरिषद्को सङ्ख्या १७ पुगेको छ। नेपालको संविधान अनुसार सङ्घीय सरकारको मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। अब आठ सदस्य मन्त्री थप्न सकिने छ।
पहिलो पटक सत्तारुढ भएको प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट उपप्रधानमन्त्रीसहित चार सदस्यले मन्त्री पदको शपथ लिनुभएको छ। थप चार जनाको नाम सिफारिस हुन बाँकी छ।
त्यसैगरी माओवादी केन्द्रबाट नेता शक्ति बस्नेत उर्जामन्त्री बन्नुभएकाे छ ।
शुक्रबार अपराह्न राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ ग्रहण गर्नुभएको हो।
पद तथा गोपनीयताको शपथ ग्रहण लिनुहुनेमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास, अशोककुमार राई शिक्षा, शरदसिंह भण्डारी श्रम, डा. प्रकाशरण महत अर्थ, महेन्द्रिराय यादव महिला बालबालिका, शक्तिबहादुर बस्नेत ऊर्जा तथा जलस्रोत, प्रकाश ज्वाला भौतिक पूर्वाधार, रञ्जिता श्रेष्ठ भूमि सुधार, रमेश रिजाल उद्योग, सीता गुरुङ सहरी विकास मन्त्री हुनुहुन्छ।