विश्वविद्यालय सुधार्न नेतृत्व सच्चिने कि सरकारलाई दाेष दिने ?

प्रा डा.सुर्य थापा

विश्व विद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरुको संयुक्त पहलले मात्र विश्वविद्यालयको गरिमा उच्च बन्न सक्दछ । विश्वविद्यालयलाई कता लैजाने भन्ने कुरा नीति निर्माण गर्ने तहमा रहेको कार्यकारी परिषद् र त्यसको नेतृत्वकर्ता उपकुलपतिको क्षमता र कार्य योजनामा भर पर्दछ । यसको लागि विश्वविद्यालयको नेतृत्व उदार, सबैको पहुँचयोग्य, र सबै सरोकारवालाहरुसँग सहकार्य गर्ने खालको  हुनुपर्छ । सरोकारवालाहरुसंग भेट्न पनि डराउने, सानो समुहमा रमाउने र नतिजामुलक काम गर्न नसक्ने अनि दोष सरकारलाई दिने ?

हो विश्व विद्यालयमा केही अराजक गतिविधि भएका छन, ती दण्डनीय हुनुपर्छ । तर ती गतिविधिलाई मलजल गर्ने कार्यमा विश्व विद्यालयका काम कारवाही एवम निर्णयहरु पनि केही हदसम्म जिम्मेवार रहेका छन् । के पदाधिकारीमा आफ्नो संस्थाभित्रको बेथितिको छानबिन गर्ने आँट छ ? सुधारको प्रयत्न नियुक्त भएको पहिलो दिनदेखि गरेको भए राम्रो हुन्थ्यो । अहिले रोइलो किन ? सबै काम सरकार, कुलपति र सहकुलपतिले गर्ने भए त्यसभन्दा तलका कार्यकारी पदहरु किन चाहिए त ? खाली रहेका पदहरु पूर्ती गर्न बिज्ञापनमा नपठाएको किन ? के सबै पदहरु ६ महिना यता खाली भएका हुन ? केन्द्रिय कार्यालयमा बस्ने र अन्य निकायमा काम गर्नेहरुको पारिश्रमिकमा कति अन्तर हुनु पर्ने हो वा होइन ? कुनै वैज्ञानिक आधार छ ? कक्षा कोठामा नियमित रहेर  पढाउनेलाई सुविधा नपाउने तर नपढाउनेले थप सुविधा पाउनु पर्ने ? सरकारको विरोध गर्ने नियतले देखाएको रोइलो बन्द गरौं । बाँकी अवधी राम्रो काम गरौं । राम्रो काम गर्नको लागि समय लामो र छोटो भन्ने हुदैन ।