
महेन्द्रनगरमा बाहिनीपति भलिबल प्रतियोगिता सुरु
कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि नेपाली सेनाको बाहिनीपति ट्रफी भलिबल प्रतियोगिता सुरु भएको छ । श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकको आयोजनामा सुरु भएको लिग चरणको भलिबल प्रतियोगितामा बाहिनीअन्तर्गत कार्यरत चार गुल्मबीच प्रतिस्पर्धा हुनेछ । श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी पुरुषोत्तम ढकालले उद्घाटन गर्नुभएको सो प्रतियोगिताको पहिलो खेलमा श्रीदल गुल्म कञ्चनपुरले विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा बैतडीको हनुमानध्वज गुल्मलाई २–० सोझो सेटले पराजित गर्दै श्रीदलले विजयी सुरुआत गरेको हो ।
त्यसैगरी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा वीरभद्रजङ्ग गुल्म बझाङ विजयी भएको छ । सो खेलमा वीरभद्रजङ्ग गुल्मले गुरुगोरख गुल्म दार्चुलालाई २–० सोझो सेटले पराजित गरेको हो । प्रतियोगिता उद्घाटन समारोहमा सहभागी गुल्म तथा सैनिक टोलीले मार्चपास प्रस्तुत गरेका थिए । बाहिनीस्तरबाट छनोट हुने टोली आगामी चैतमा सञ्चालन हुने सुदूरपश्चिम पृतनापति ट्रफी–२०७९ मा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।आगामी शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बाहिनीपति सहायक रथी ढकालसँगै रुद्रध्वज गण मझगाउँ ब्यारेकका गणपति प्रमुख सेनानी सागर कार्की बाहिनी तथा गुल्मका सैनिक अधिकृतलगायतको सहभागिता रहेको थियो ।
