राष्ट्रपतिबारे प्रचण्डको प्रस्तावमा आठ दलकाे समर्थन : काे हाेला कांग्रेस उम्मेदवार ?
राष्ट्रपतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा आठ दलले समर्थन जनाएका छन् । प्रचण्डले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन जनाएपछि कांग्रेसले राष्ट्रपति पाउने पक्का भएको हाे ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव ल्याएको बताए। “प्रधानमन्त्रीजीले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दललाई राष्ट्रपतिमा सघाउने प्रस्ताव ल्याउनुभयो। प्रधानमन्त्रीको प्रस्तावलाई आठै दलले समर्थन गरेका छन्,” ज्वालाले भने।
बालुवाटरमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेता सहभागी रहेका थिए। पुरानो गठबन्धनमा रहेका पाँच पार्टीसँगै जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि कांग्रेसलाई सघाउन तयार भएका हुन्।
कांग्रेसले राष्ट्रपतिकाे उमेदवार कसलाई बनाउने भन्ने विषयमा अझैसम्म टुंगो लगाएकाे छैन । सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पाैडेल, कृष्णप्रसाद सिटाैलालगायतकाे नाम चर्चामा छ ।