
के तपाइको भान्सामा बम त छैन ? कसरी हेर्ने ? के-के हेर्ने ?
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्याद थप्न सकिन्छ। हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने (लिक प्रुफ) पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वा बीचमै चुहावट भएमा त्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन। तर ग्यास उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वन नगर्ने र कमिसनको भरमा कागजी प्रकृया पुरा गरेर जनताको भान्सा-भान्सामा बम पठाउने गरेका छन् । यसैको ज्वलन्त उदाहरण हो हरेक महिना जसो ग्यास सिलिण्डरको बिष्फोट।
कसरी हेर्ने ? के-के हेर्ने ?
ग्यास सिलिण्डरको घाँटीमा भएका ३ वटा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड उल्लेख गरिएको हुन्छ ।
डण्डीमा उल्लेख गरिएको कोडकै आधारमा ग्यास सिलिन्डको म्याद थाहा पाउन सकिन्छ । सिलिन्डरमा प्रयोग गरिएको डन्डीको घाँटीमा A, B, C र D कोर्ड नम्बर राखिएको हुन्छ । कोडसँगै १८, १८ २०, २२, २५ आदि अंकहरु हुन्छ । सोही आधारका सिलिन्डरको म्याद पत्ता लगाउन सकिन्छ ।
ए, बी, सी र डीले अंग्रेजी महिनाको क्रमशः ३-३ महिना जनाउँछ । जसमा A ले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने B ले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । C ले जुलाई, अगष्ट र सेप्टेम्बर तथा D ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ । त्यस्तै अंग्रेजी अक्षरपछि लेखिएको अंकले अंग्रेजी क्यालेण्डरको बर्ष जनाउँछ । जस्तै २४ अंक लेखिएको भएमा त्यसको म्याद २०२४ सम्म हो भन्ने बुझ्नुपर्दछ ।
‘A 24’ लेखिएको सिलिण्डरको म्याद सन् 2024 को मार्च सम्म हो भनी बुझ्नुपर्छ । यसैगरी सिलिन्डरमा D 28 डी लेखेको छ भने त्यो सिलिन्डरको म्याद सन् 2028 को डिसेम्बरसम्मको रहेछ भनेर बुझनुपर्छ ।
यद्यपि यो बिषयमा जानकारी दिएता पनि ति म्यादका अक्षरहरु फलाममा कुदिएर लेखिएका भने हुदैन। नेपाल जस्तो भ्रष्ट मुलुकमा कमिसनमा जे पनि लेख्न सक्छन्। त्यो म्याद मात्र हेरेर सिलिन्डर सुरक्षित रहेको सुनिश्चित गर्न सकिदैन।
