राष्ट्रपति भण्डारीकाे संसदमा अन्तिम सम्बाेधन : चिन्ता धेरै समाधान कम
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बैठकमा अन्तिम सम्वाेधन गर्नुभएको छ ।
शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको हो।
देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड-१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वित्त नीतिमा निर्देशित हुनुपर्ने देखिएको छ।’’
देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको बताउनुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो।
राष्ट्रपति भण्डारीले पुँजीगत बजेट कम हुने र त्यो सबै खर्च हुन नसक्दा पुँजी निर्माणमा समस्या भएको बताउनुभएको छ। उहाँले भन्नुभयो,“हाम्रो देशमा पुँजीगत बजेट कम मात्रामा विनियोजन हुनेगरेको छ। त्यही पनि पुरै मात्रामा बजेट खर्च हुँन नसक्दा पुँजी निर्माणमा बाधा हुने गरेको छ।”
पछिल्लो समय लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेकोप्रति उहाँले चासो व्यक्त गर्नुभएको छ। लक्ष्य अनुसार राजस्व सङ्कलन हुन नसक्दा देशको आर्थिक वृद्धिमा असर परिरहेको उहाँको भनाइ छ। लक्ष्य अनुसारको राजस्व सङ्कलनमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । राजस्व सङ्कलन कम हुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा आन्तरिक ऋणको चाप बढ्दै गएको उहाँको भनाइ छ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “लक्ष्य अनुसारको राजस्व सङ्कलन नहुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा खर्च धान्न गाह्रो भएको छ। आन्तरिक ऋणको चाप बढ्दै गएको छ।”