माधव नेपालले खुट्याए पार्टी कमजाेर हुनुकाे कारणहरू
नेकपा एकीकृत समाजवादीले चुनावी समिक्षा गर्दै अपेक्षित मत नपाएको निश्कर्ष निकालेकाे छ । राजधानीमा शुरू भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष माधव नेपालले २५ पृष्ठकाे राजनीतिक दस्तावेज प्रस्तुत गर्दै साे निष्कर्ष निकालेका हुन् ।
नेपालको दस्तावेजमा मुख्य गरी चार विषय समेटिएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्थाबारे प्रतिवेदनमार्फत् छलफल खुला गरिएको छ । अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थितिलाई चीन र रुसप्रति झुकाव राखेर व्याख्या गरेका छन् । त्यसै आधारमा, पार्टी दृष्टिकोण बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
अध्यक्ष माधवकुमार नेपालले पेश गरेको २५ पृष्ठको राजनीतिक दस्तावेजमाथि छलफल गर्न १० समूह बनाइएको छ । शनिबार समूहगत छलफलबाट आएको सुझाव समेटेर पार्टी निर्णय हुने प्रवक्ता जगन्नाथ खतिवडा बताउँछन् । ‘अल्फाबेटका आधारमा दश समूह बनाइएको छ । राजनीतिक दस्तावेजमाथि छलफल गरेर निर्णयमा पुग्छौं’, खतिवडा भन्छन् ।
प्रतिवेदनको दोस्रो, तर महत्वपूर्ण विषय भने चुनावी समीक्षा छ । नेकपा एमालेबाट विद्रोह गरेर बनेको पार्टीले अपेक्षित मत नपाएको तथ्य स्वीकारिएको छ । ‘हाम्रो पार्टी पनि अपेक्षा गरिए भन्दा पछाडि परेको छ’ प्रतिवेदनमा लेखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ साढे सात लाख मत ल्याउने आशा गरेको भएपनि झण्डै दुई तिहाइ कम आउँदा थ्रेस होल्ड कटाउन नसकिएको उल्लेख छ ।
नेपालकाे दस्तावेजमा पार्टीको पक्षमा अपेक्षित मत नआउनुमा कारणहरुमा पार्टी योजना कार्यान्वयन नहुनु, कार्यकर्ता परिचालित नहुनु, गठबन्धनबाट सहयोग नपाउनु, टिकट नपाउनेहरुबाट असन्तुष्टि बढ्नु, अवसरवादी प्रवृत्ति देखिनु, पैसा बिना नचल्ने प्रवृत्ति देखिनु, तालमेलका कारणले समानुपातिक मतमा असर देखिनु, प्रभावकारी प्रचार नहुनु लगायत छन् । विचार र सिद्धान्तमै प्रष्ट नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ नयाँ मतदाता देखिएकाले पनि एकीकृत समाजवादीले अपेक्षित मत पाउन नसकेको प्रतिवेदनमा छ ।
बढी असर भने नयाँलाई मत भनेर प्रचार गरिएको ‘नो, नट अगेन’ अभियानबाट पुगेको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ ।