माओवादी निर्णय: सकेसम्म राष्ट्रिय सहमति, नभए विचार मिल्नेसँग सहकार्य
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा राष्ट्रपति निर्वाचनबारे चर्चा भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरूसँग छलफलका लागि आफूहरु खुला रहेको बताए । उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको जानकारी दिए ।
सत्ता साझेदार दल एमालेलाई चिढ्याउन आफूहरूले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको उनको भनाइ थियो । ‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौं । सबै पक्षसँग हामी खुला छौं, प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔं भनेर अघि बढ्ने कुरा राम्रो हो,’ पौडेलले भने, ‘गृहमन्त्रीको बारेमा केही कुरा भएन, नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्नेछौं ।
एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौं भन्ने हो । समय माग्नुभएको हो, प्रधानमन्त्रीले बितिसकेको समय पछि उहाँहरु के भनेर आउनुहुन्छ, त्यसअनुसार हुन्छ ।’