सहिद जन्माउने भूमि : सहिदकाे सम्मान कसरी ?
यतिखेर हामी शहीद सप्ताहको अन्तिम चरणमा आइपुगेका छौँ । माघ १६ गते शहीद सप्ताहको अन्तिम दिन हो । यसो त वि.सं. १९९७ सालमा १०४ वर्षीय राणा शासन अन्त्यका लागि पाँच जना वीर नेपाली सपुतले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो प्राण आहुति दिए । गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्द, चिनियाँ काजीलाई जनजनले अमर शहीद भनेर वर्षाैंदेखि सम्मान गर्दै आइरहेका छन् ।
राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि यी अमर आत्माले गरेको बलिदानीको जतिसुकै सम्मान गरे पनि कमै हुन्छ । त्यसबेलाको अशिक्षित नेपाली समाजलाई दबाउन राणाहरूले गरेको अत्याचार अन्याय र शोषणको जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ । राणा शासनको विरोधमा उत्रने त्यसबेलाका महामना र नेतृत्वदायी भूमिका निर्वाह गर्ने बहादुर नेपाली सपुतप्रति श्रद्धाले जहिले पनि हामीहरूको नूर नतमस्तक हुने गर्छ ।
वि.सं. १९९७ साल माघदेखि २०६२/६३ सालको जनआन्दोलनसम्म देशमा पटकपटक सम्पन्न भएका विभिन्न आन्दोलनमा प्राणको आहुति दिई प्रजातन्त्र र लोकतन्त्रको रक्षार्थ शहीद हुनेहरूको सङ्ख्या धेरै छ । अझ वर्तमान कालखण्डमा हरेक राजनीतिक दर्शन बोकेका राजनीतिक दलसँग आबद्ध धेरै युवक–युवतीले पनि शहीदको पङ्क्तिमा आफूलाई उभ्याएको पाइन्छ । देशमा प्रजातन्त्रका लागि बलिदानी गर्ने माथि उल्लेख गरेका नामबाटै माघ १० देखि १६ गतेसम्म हरेक सरकारले शहीद सप्ताह मनाएर शहीदप्रति उचित कदर गर्नु आफँैमा प्रशंसनीय काम हो । यसको अर्थ शहीदलाई श्रेणीगत रूपमा विभाजन गरेको नभएर सबैजना नेपाली जनका लागि प्रातःस्मरणीय अमर आत्मा हुन् भन्ने जनजनको विश्वास रहँदै आएको देखिन्छ ।
‘शहीद’ शब्दको अर्थ धेरै नै महत्त्वपूर्ण र गहिरो छ । जसले निजी स्वार्थ त्यागेर देशका लागि बलिदानी दिन्छ, प्रजातन्त्र प्राप्तिका लागि हाँसीहाँसी मृत्युवरण गर्छ र भविष्यका सन्ततिका लागि सुखको र मौलिक अधिकारका लागि प्राण आहुति गर्छ भने त्यस्ता महान् व्यक्तिलाई अमर शहीद भन्ने गरिन्छ । पछिल्लो कालखण्डमा केही निहित स्वार्थ सिद्धिका लागि माग राखेर सडक आन्दोलनका क्रममा निधन हुन पुगेका व्यक्तिलाई पनि शहीद भन्ने गरिन्छ, सरकारलाई शहीद घोषणा गर्न बाध्य पारिन्छ । त्यस्ता कार्यले वास्तविक शहीदको अपमान पो हुने हो कि ?
वि.सं. १९०३ असोजमा भएको घटना; जसलाई नेपालको इतिहासमा कोतपर्वका रूपमा लिइन्छ, त्यहीँबाट राणा शासनकाल सुरु भएको मानिन्छ । तत्कालीन राजा सुरेन्द्रकी कान्छी रानीको रिस शान्त पार्न त्यसबेलाका भारदार र चौतारियालाई कोतमा भेला हुन लगाइयो । रानीको प्रियपात्र गगन सिंहको हत्यारा जङ्गबहादुर नै हो भनी रगतले लतपतिएका आफ्ना औँलाले भित्तामा लेखेका अभिमान सिंहको हत्यापछि चतुर राजनीतिक खेलाडी जङ्गबहादुरले आफ्ना भाइहरूको सहायताले ३७ जना निर्दाेष राष्ट्रभक्तको हत्या गरे । सम्पूर्ण शक्ति आफ्नो हातमा लिई सर्वेसर्वा हुन पुगेका जङ्गबहादुर कुँवर पछि थर बदलेर राणा बन्न पुगे । साथै शक्तिशाली प्रधानमन्त्री बन्न पुगेको घटना इतिहासमा वर्णित छ ।
आफ्नो र परिवारको सुखसयलमा मस्त राणाहरूमा अर्का क्रूर शासक थिए– चन्द्र शमशेर । उनको अत्याचार सहन नसकी जनताका छोरा कृष्णप्रसाद कोइरालाले जनताको नासो भनी पोको पारेर फाटेका कपडा चन्द्र शमशेरलाई उपहार दिनुलाई प्रजातन्त्र प्राप्तिका लागि बीजारोपणका रूपमा लिइन्छ । आफ्ना पिताको प्रजातन्त्रप्रतिको अटल आस्था र बहादुरीको पाठ सिक्दै महान् समाजवादी चिन्तक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले राणाका विरुद्ध गरेको वि.सं. १९९७ देखि २००७ सालसम्मको आन्दोलनको नेतृत्व भुल्नै नसकिने खालको छ । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि राणा हटाऊ आन्दोलनको नेतृत्व गरे । परिणाम आन्दोलन सफल भएर नै वि.सं. २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको घाम झुल्केको हो । यसैगरी वि.सं. २००४ मा हालको दरबारमार्गस्थित संस्कृत छात्राबासमा अध्ययनरत तत्कालीन विद्यार्थी पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतको नेतृत्वको ‘जयतु संस्कृतम्’ आन्दोलन पनि राणा हटाऊ अभियानको एउटा महत्वपूर्ण कडी मान्न सकिन्छ ।
हाम्रा पूर्खाले ज्यानको आहुति दिएर ल्याएको प्रजातन्त्रलाई वि.सं. २०१७ साल पुस १ गतेका दिन तत्कालीन राजा महेन्द्रले जननायक बीपीको मन्त्रिमण्डल विघटन मात्र गरेनन्, बर्खास्तै गरे । जुन दुःखद घटना थियो, नेपाललाई अन्धकार युगमा धकेल्ने राणा शासनको दोस्रो कदमझैँ निन्दनीय थियो । ३० वर्षे एकदलीय पञ्चायती शासनविरुद्ध पनि देशका धेरै होनहार युवा शहीद हुन पुगे । क्याप्टेन यज्ञबहादुर, लीला, ठगी, कामेश्वर, कुशेश्वर आदिजस्ता सपुतले देशमा प्रजातन्त्र पुनर्बहालीका लागि आफूलाई शहीद बनाए । वर्तमानमा उनीहरूलाई त्यति सम्झिएजस्तो लाग्दैन समाजले र सरकारले । आफैँमा जिउँदा शहीद बन्न पुगेका गणेशमान सिंह, पुष्पलालजस्ता महामनाले देखाएको मार्गमा हामी कति इमानदारी भएर हिँडिरहेका छौँ, वर्तमानमा हामीले सोच्नुपर्ने अवस्था आएको छ ।
वि.सं. २०४६ को जनक्रान्तिमा १० जना युवा शहीद भए । तिनीहरूको नाम निशान सडकको चोकमा पनि लेखिएको पाइँदैन, जुन दुःखद कुरा हो । यसैगरी २०६२/६३ को दोस्रो ठूलो जनक्रान्तिमा १९ जना सपुतले ज्यान गुमाए । उनीहरूको तस्बिर प्रत्येक मन्त्रालयका भित्तामा सम्मानसाथ टाँसिएको त देख्न पाइन्छ तर परिवारजनको खोजी खबरी सरकारले के कति गरिरहेको छ, अवगत हुन सकेको छैन । बनेपाका जिउँदा शहीद मुकेश कायस्थलाई जिन्दगीभर सरकारले रेखदेख गर्नुपर्छ; जसलाई लोकतान्त्रिक प्रणालीको एउटा नमुना मान्न सकिनेछ । २०६२/६३ पछि मधेश आन्दोलनमा आफ्नो अधिकार प्राप्तिका लागि झन्डै ५० जनाको दुःखद निधन हुन पुग्यो । जसमा केही सुरक्षाकर्मी पनि थिए । यस विषयमा हरेक सरकार सचेत हुन जरुरी छ ।
तत्कालीन विद्रोहकाे नेतृत्वकर्ता माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाल प्रधानमन्त्री पदमा रहेर देशको नेतृत्व गरिराख्नुभएको छ । जसको काँधमा धेरै जिम्मेवारी थपिएका छन्, चुनौतीका चाङ खडा छन् । १० वर्षे सङ्घर्षमा मारिएका हजारौँ सर्वसाधारण र अङ्गभङ्ग भएका नेपालीजनको समुचित विचार गर्नु, लगत सङ्कलन गर्नु पनि वर्तमान सरकारको दायित्व रहनेछ । केही पत्रकार, राष्ट्रसेवक कर्मचारी पनि सङ्घर्षका क्रममा दिवङ्गत हुन पुगेका थिए ।
२०६२/६३ सालको प्रतिगमन कदमका विरुद्ध थालिएको लोकतान्त्रिक आन्दोलन सफल भइसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र त्यसपछिका प्रधानमन्त्री प्रचण्डलाई भेटेर देशभरि नै (हालका सातवटै प्रान्त) शहीदपार्कका लागि जमिन छुट्याई अमर शहीदको प्रतिमा निर्माण गर्नु आवश्यक छ भनी सल्लाह सुझाव दिइएको थियो । काठमाडौँको गोकर्णेश्वरमा जमिन छुट्याए पनि आवश्यक अन्य काम सम्पन्न गर्न बाँकी नै छ । २०६३ साल वैशाखमा राजधानीको कलङ्कीमा शहीद हुन पुगेका अमर आत्मा सगुन ताम्राकारकी आमा जया ताम्राकारले पङ्क्तिकारलाई गरेको गुनासो सधैँ याद आइरहन्छ । जयाले “लोकतन्त्र प्राप्तिका लागि छोरो शहीद भयो, म खुसी छु तर हाम्रा नेताले भोलि शान्ति कायम राखी लोकतन्त्र बचाउन सक्छन् कि सक्दैनन् ? मुख्य प्रश्न यसमा छ” भनेकी थिइन् । उनको यो चिन्ता हरेक प्रबुद्ध नागरिकसामु अहिले पनि खडा भएर आएको छ । अहिलेको अवस्था सबैजना मिलेर देशको इज्जत, प्रतिष्ठा र गरिबीपन दूर गर्ने, बेरोजगारी कम गर्ने र भ्रष्टाचार अन्त्य गर्ने हो भने अमर शहीदको सपना पूरा हुनेछ ।
दक्षिण एसियाली मुलुकमा प्रजातन्त्र, लोकतन्त्रका पक्षमा हरघडी जागा रहने, चनाखो भएर सार्वभौम मुलुकलाई अझ स्वाभिमानी बनाउने नेपालका युवा र विद्यार्थी अग्रपङ्क्तिमा आउने गर्छन् । हाम्रो देश सानो छ, जनसङ्ख्या पनि कम छ तर पटकपटक आन्दोलनमा होमिएर शहीदका रूपमा उपस्थिति जनाउने मुलुक नेपाल अरूको दाँजोमा प्रथम पङ्क्तिमा आउने गर्दछ । जुन कुरा शहीदप्रतिको युवाको सम्मान हो भन्न सकिन्छ । – गाेरखापत्रबाट