नागरिकता पाएपछि रविले पाए सभापति, गृहमन्त्री के हाेला ?

मूलखबर संवाददाता
काठमाडौं, १५ माघ

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएपछि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीकाे पुनः पार्टी सभापति चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे केन्द्रीय समिति बैठकले लामिछानेलाई पार्टी सभापति चयन गरेको हाे । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उनको पार्टी सभापति पद गुमेको थियो ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरे पनि नेपाली नागरिकता पुनः प्राप्त नगरेको भन्दै सर्वोच्च अदालतले गरेको फैसला अनुसार उहाँको सांसद, उपप्रधान तथा गृहमन्त्रीसँगै पार्टी सभापति पद गुमेको थियो ।

आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लामिछानेले नागरिकता लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः पार्टी सभापति चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो बैठकमा लामिछाने आमन्त्रित सदस्यको रुपमा उपस्थित भएका थिए । सोही बैठकबाट केन्द्रीय सदस्य चयन भएका हुन् । त्यस लगत्तै बसेको दोस्रो बैठकबाट पार्टी सभापति चयन गर्ने निर्णय भएको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रवक्ता ढकालले भने- ‘‘पार्टीको सदस्यता प्राप्ती गर्ने प्रक्रिया पूरा गर्नुभयो । त्यसपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सभापतिमा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो । योसँगै पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ । यो सर्वसम्मत निर्णय हो ।’’

नागरिकता लिने प्रक्रिया पूरा नगरेको फैसला सर्वोच्च अदालतले गरेपछि गत शुक्रबार रविकाे उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको थियो । केन्द्रीय समिति बैठकले सबै प्रक्रिया पूरा गरेर उनलाई सभापतिमा सर्वसम्मतिले चयन गरेको प्रवक्ता ढकालको भनाइ छ ।

सभापति चयन भए लगत्तै लामिछानेको सभापतित्वमा बसेको केन्द्रीय कार्य समिति बैठकले पार्टीको सबै प्रदेशमा सङ्गठन विस्तार गर्ने निर्णय गरेको छ । सङ्गठन विस्तारको कार्यतालिका माघ २१ गतेबाट पुनः सुरु गर्ने निर्णय भएको ढकालकाे भनाइ छ ।

प्रवक्ता ढकालले गृह मन्त्रालयमा आफ्नो पार्टीको दाबी स्वाभाविकै हुनेसमेत बताउनुभएको छ । प्रवक्ता ढकालले भने, ‘‘अहिले नै यी विषयमा हामीले छलफल गरेका छैनौँ । समस्या हाम्रो पार्टीमा आएको हो । अन्य दलले यसलाई समस्याको रूपमा बुझ्नुपर्ने जरुरी नै छैन । यो हाम्रो समस्या भएकाले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । त्यो जिम्मेवारी बारे आवश्यक निर्णय लिने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’’