गृहमन्त्री लामिछानेको मुद्दा `हेर्दाहेर्दै´मा, अर्को पेशी शुक्रबार

मूलखबर संवाददाता
काठमाडौं

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संसद् सदस्यको अयोग्यता सम्बन्धमा  परेको रिट निवेदनको अन्तिम सुनुवाइ बुधबार सुरु भएको छ। मुद्दामा जवाफी बहस नसकिएकाले ‘हेर्दाहेर्दै’मा राखिएको छ।

यो मुद्दा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ,  ईश्वरप्रसाद खतिवडा,  डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त संवैधानिक इजलासमा परेको छ। अग्राधिकार प्राप्त यस मुद्दाको सुनुवाइ अब शुक्रबार हुनेछ।

अधिवक्ता रविराज बसौला र युवराज पौडेलले लामिछानेको संसद् सदस्यको योग्यता नपुगेको दाबी गर्दै रिट निवेदन दायर गरेका थिए। गत  मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दिएलगत्तै लामिछानेको नागरिकता विवाद सुरु भएको थियो। निर्वाचनअघि निर्वाचन आयोगमा उजुरी र निर्वाचन सम्पन्न भएलगत्तै सर्वोच्चमा रिट निवेदन परेको थियो।