सभामुखमा एमालेका घिमिरे निर्वाचित, घिमिरेलाई १६७, न्याैपानेलाई १ सय मत

मूलखबर संवाददाता
काठमाडौं, ५ माघ

प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १ सय ६७ मत प्राप्त गर्नुभएको छ ।

उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य  हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ।