मन्त्रीपरिषद् बैठक: प्रबक्ताकाे जिम्मेवारी संचार मन्त्री रेखालाई, अरू निर्णय के के ?

मूलखबर संवाददाता
काठमाडौं, ४ माघ

सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । मन्त्री शर्मालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय बैठकले गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले नेपाल सरकारले प्रदान गर्ने विभूषणको स्पष्ट मापदण्ड तय गर्नका लागि समिति बनाउने निष्कर्ष पनि निकालेको छ। मन्त्रिपरिषद बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डा. देवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

बैठकले उखुको मूल्य प्रतिक्वीटल ५४० रुपैयाँ र सरकारले व्यहोर्ने ढुवानी भाडा रु ७० यो निर्धारण गरेको उनले जानकारी दिए। त्यसैगरी कूटनीतिक नियोगलगायतका विदेशी प्रतिनिधिहरुलाई मन्त्रीहरुले भेट्दा परराष्ट्र मन्त्रालयको प्रतिनिधिको उपस्थिति अनिवार्य गर्ने पनि बैठकले निर्णय गरेको छ।

क्रसर उद्योगसँग सम्बन्धित समस्याको बारेमा आजको मन्त्रिपरिषद बैठकमा छलफल भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए। त्यसैगरी बैठकले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि एक हप्ता भित्र कार्ययोजना निर्माण गरी मन्त्रपिरिषद बैठकमा पेश गर्न पनि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ।

मन्त्रिपरिषद बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सो मन्त्रालयका सचिव गोपाल सिग्देललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ।