सरकारकाे ऐना : न्युनतम साझा कार्यक्रमकाे मस्यौदामा के छन् ?
नेपालकाे ४४ ओैं प्रधानमन्त्रीका रूपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि सरकारले कस्ताे नीति अख्तियार गर्छ भन्ने आम जिज्ञासाकाे समाधान गर्न कार्यदलले साझा कार्यक्रमकाे मस्यौदा तयार गरेको छ ।
सत्तारूढ गठबन्धनका दलहरूले निर्माण गरेको कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गरेका छन् । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्रबाट आवश्यकताअनुसार परिमार्जनपछि सार्वजनिक गरिने भएको छ ।
मस्यौदामा के छ ?
- सुशासन, प्रभावकारी सेवा प्रवाह र समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन तथा संरचना फेर्ने
- अति राजनीतीकरणका कारण अक्षम बनेका राज्यका संस्थालाई पुनःसंरचना गर्ने
- राज्यका निकायहरुबीच प्रभावकारी समन्वय गर्ने
- कार्यसम्पादन सुनिश्चितताका लागि प्रभावकारी अनुगमन गर्ने
- उच्चस्तरीय आयोग गठन गरी न्यायपालिकाको शुद्धीकरण एवं सुधार गर्ने
- आमनागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने
- नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन उच्चस्तरीय कार्यदल गठन गर्ने
- सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउने
- अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकारसम्पन्न बनाउने
- कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाउने
- सरकारले पूर्णता पाएको एक महिनाभित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने अवस्था अन्त्य गर्ने
- नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने
- निजी क्षेत्रको लगानी प्रवर्द्धनमा आवश्यकताअनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने
- राजस्व प्रशासनलाई थप चुस्त, दुरूस्त तथा करदातामैत्री बनाउने
- कार्यालय सञ्चालन खर्च कटौती गर्ने
- शान्तिप्रक्रिया र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिट्टै सम्पन्न गर्ने