माओवादी केन्द्रको संसदीय दल नेतामा प्रचण्ड, सचेतकमा हितराज चयन
नेकपा माओवादी केन्द्रको प्रतिनिधिसभाको संसदीय दल नेतामा पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको बैठकले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो । त्यसैगरी बैठकले वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभाको दल नेतामा र प्रमूख सचेतकमा पार्टी सचिव तथा पुर्व मन्त्री हितराज पाण्डेलाई चयन गरेको छ ।
त्यसअघि पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । दलको उपनेता र सचेतक थप गृहकार्य गरेर मात्रै बनाउने प्रचण्डले बैठकमा बताएका छन् । सरकार गठन भएपछि सचेतक र उपेनताको टुंगो लगाउने बताइएको छ ।
माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता, सचेतक र चयन गरेको हो । बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो । अध्यक्ष तथा दल नेता प्रचण्डले अब सरकार गठनको प्रक्रिया पनि सहज ढंगले अगाडि वढ्ने बताएका छन् ।