प्रतिनिधिसभा सदस्यले लिए सपथ, ४ जना अनुपस्थित
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट विजयी र समानुपातिकतर्फबाट निर्वाचित नवनिर्वाचित सांसदहरूले आज शपथ ग्रहण गरेका छन्।
अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरस्थित संसद भवनमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन्।
सांसदका रूपमा कामकारबाही गर्नुभन्दा पहिले शपथ लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज सपथ ग्रहण गराइएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा २७५ जना सांसद छन्। आज ४ जना सांसद अनुपस्थित रहेका थिए।
अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । महिन्द्रराय यादवको शपथ कार्यक्रम शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको संसद् सचिवालयले जानकारी दिएको छ।
संसदमा ८९ जना सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो। ७८ सांसदसहित नेकपा एमाले दोस्रो ठूलो दल हो भने नेकपा माओवादी केन्द्रबाट ३२ जना सांसद छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट २० जना, राप्रपाबाट १४ जना, नेकपा एकीकृत समाजवादीका १० जना, जसपाका १२ जना, जनमत पार्टीका ६ जना जना, नागरिक उन्मुक्ति पार्टीबाट ३ जना, लोसपाका ४ जना, स्वतन्त्र ५ जना, राष्ट्रिय जनमोर्चाबाट १, नेमकिपाबाट १ जना सांसद छन्।
आजको सपथ ग्रहणमा विभिन्न १४ भाषामा २५ जना सांसदले शपथ लिएका थिए। अरूले नेपाली भाषामा शपथ लिएका छन्।
संसद् भवनमा सबै सांसदहरू विभिन्न भेषभुषामा आएका थिए । केही सांसदहरूले मौलिक पोसाक रोजेका थिए भने केहीले मिश्रित । यसपटक संसद्मा नयाँ दल मात्र होइन, पहिलो पटक नै सांसद बन्नेको बाहुल्यता पनि देखिन्छ । संसद्मा यस पटक नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ दलका रूपमा प्रवेश गरेका छन् । संसद्मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी कैलालीकी सांसद रञ्जिता श्रेष्ठ चौधरी थारु पोसाकमा आएकी छिन् । त्यस्तै सांसदहरू तामाङ, गुरुङ, मगरलगायत विभिन्न संस्कृति झल्कने पोसाकमा समेत संसद्मा आएका थिए।