माओवादी पदाधिकारी बैठक आज : यस्ता छन् एजेन्डा
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पार्टी महासचिव देवप्रसाद गुरूङले जानकारी दिए । बैठकमा संसदीय दलको नेता चयन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ ।
माओवादी केन्द्रले सरकारकाे नेतृत्वमा दावी गर्ने सार्वजनिक गरिसकेको छ । जसकाे लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अगाडि सार्ने याेजना माओवादीकाे छ । यसबारे माओवादीले वर्तमान गठबन्धनलाई कायम राखेर जान सहमत भएको छ । यदि गठबन्धनमा नेपाली कांग्रेसले प्रधानमन्त्री दिन नचाहेमा माओवादीले नयाँ ढंगबाट निर्णय लिन पनि तयार भएको मुख्य नेताहरूले बताउँदै आएका पनि छन् । प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुटेको छैन । माओवादी महासचिव र अन्य नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँग र एमालेका दाेस्राे तहका नेताहरूले प्रचण्डसँग छलफल पनि गरेका छन् । आजकाे बैठकमा सबै विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रकाे २१ सदस्यीय पदाधिकारीमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिवमा देव गुरूङ रहेका छन् भने सात उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादव र शक्ति बस्नेत छन् । सचिवमा दीनानाथ शर्मा, गणेश साह, चक्रपाणि खनाल, लीलामणि पोखरेल, देवेन्द्र पौडेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की छन् । कोषाध्यक्षमा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढका रहेका छन् ।