हाम्रो मुख्य जोड भ्रष्टाचार नियन्त्रण र सुसासनमा हुनुपर्छ, जनतामा जोडिने हुनुपर्छ : प्रचण्ड

मूलखबर संवाददाता
ललितपुर, २५ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको मूख्य जोड भ्रष्टाचार नियन्त्रण, सुसासनसहितको सरकार र जनतामा जोडिने पार्टी बनाउनेमा हुने बताएका छन् ।
प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले विशिष्ट श्रेणीका कर्मचारीहरुको सम्पती छानविन गर्ने देखि लिएर जननियन्त्रीत सरकार निर्माणमा आफूहरु लाग्ने बताएका हुन् । उनले भने हाम्रो पनि छानविन गरेर अगाडि बढ्ने शक्तिशाली छानविन र कार्वाहीको संयन्त्र निर्माण गर्न अबको गठबन्धन सरकार तयार हुनुपर्नेछ ।

प्रचण्डले नेपालको सामाजिक बनावटमा ठुलो परिवर्तन आइसकेको भन्दै विदेशमा रहेका ५०–६० लाख मानिसलाई पनि सही ढंगले समेट्नुपर्ने खाँचो औंल्याए । अहिले देशको राजनीतिमा ‘नयाँ हावा’ चल्नुमा त्यो जनशक्तिको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी पनि उनले गरेका छन् । उनले पार्टीको अलग पहिचान बनाउनतिर जोड दिनुपर्ने खाँचो औंल्याए । उनले पार्टीको रणनीति, कार्यशैली र पार्टीमा बस्नेहरूको आचरण–व्यवहार यस्तो हुनुपर्छ भनेर ठोस रुपमा विकसित गर्न नसकेको प्रस्ट पारे ।

‘माओवादी आन्दोलन अहिले आइडेन्टिटी क्राइसिसमा पर्न थालेको छ,’ उनले भने, ‘हिजो जसरी माओवादी भनेपछि टाढैबाट चिनिन्थ्यो, हाम्रो कपडा, हामीले खाने खाना, हाम्रा नीतिले छर्लङ्गै देखिन्थ्यो यो माओवादी हो भनेर ।’

जनतासँग घुलमिल हुने, सरल जीवन, कठोर मेहनत गर्ने, आफ्नो पार्टी, नेतालाई माया गर्ने त्यो आइडेन्टीटी हराउँदै अहिले आएर सबै दल उस्तै रहेछन् भन्ने सन्देश प्रवाह भएको उनको भनाइ थियो ।

‘जनताले हेर्दा सबै उस्तै जस्तो भयो । सबैको बोली, व्यवहार उस्तै,’ उनले भने । आफ्नो पहिचान सुस्पष्ट गर्ने र एउटा परिधिमा रहेकामात्र यो संगठनमा बस्न पाउने व्यवस्था बनाउनुपर्ने उनले बताए । उनले प्रेस सेन्टरका पदाधिकारीलाई युनिक आइडेन्टीटी बनाउनेतिर छलफल, अध्ययन, चिन्तन गर्न पनि सुझाव दिए ।

मिडियामा आक्रामक ढंगले प्रस्तुत नहुने हो भने जनताले विकासका कुरालाई मात्र महत्व नदिने उनको भनाइ थियो । ‘नयाँ पुस्तालाई जनयुद्धबारे केही थाहा छैन । प्रशिक्षित गर्न सकेका छैनौं,’ उनले भने, ‘डिजिटल युगमा छौं, अहिलेका युवाहरुको स्कुललिङ इन्टरनेटबाट हुन्छ । सोसल मिडियामा हाम्रो हस्तक्षेप व्यवस्थित भएन भने हामी प्रतिक्रियावादीलाई काउन्टर दिन सक्दैनौं ।’

उनले सोसल मिडियाका लागि डिजिटल आर्मी तयार गर्नुपर्ने खाँचो पनि औंल्याए । एक्सपर्टका साथसाथै सोसल मिडियामा विशाल फौज चाहिने उल्लेख गर्दै उनले माओवादी केन्द्रसँग भएको जनमत, कार्यकर्ता पंक्तिलाई यसमा प्रयोग गर्न सकिने बताए ।

अर्को चुनावमा कुनै पनि दलसँग तालमेल नगरी जित्ने गरी संगठन बनाउनतिर लाग्नुपर्नेमा पनि प्रचण्डले जोड दिएका छन् । प्रचण्डले माओवादीले मसक्कै आँटेर आफ्नो टाउकोमा आफैं लगाउने गरी समिक्षा गरेर अगाडि बढ्ने र जनतातिर फर्केर काम गर्ने गरेपछि माओवादी पुनः शत्तिःशाली पार्टी बन्ने सम्भावना रहेको बताए ।
संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षता र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न् बैठकमा संगठनका इन्चार्ज तथा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य महेश्वर दाहालले जनपक्षीय पत्रकारीताका चुनौति र सम्भावनाको विषयमा प्रकाश पारेका थिए भने माओवादी विदेश विभाग अध्यष तथा वरिष्ठ पत्रकार ओम शर्माले पत्रकारहरुले आलोचनात्मक चेत राख्नुपर्ने र आफ्नो क्षमता अभिवृद्धिमा जोड दिन आवश्यक रहेको बताए । बैठकमा संगठनका ११ प्रदेश इन्चार्जहरुलगायत पदाधिकारी सदस्यहरुले आफ्नो क्षेत्रगत रिपोर्टींग गरेका थिए ।