उधाैली र यमरी पुन्हिमा प्रचण्डको शुभकामना, अग्रगमनका लागि एकताबद्व बन्न अपील

मूलखबर संवाददाता
काठमाडौं, २२ मंसिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किरात समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्हि (ज्यापु दिवस) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले अग्रगमनकारी सोच र चिन्तनले नै मुलुकको आर्थिक विकास र समृद्धि हुँदै समाजवादी लक्ष्य हासिल गर्न सकिने भएकाले त्यस दिशामा एकताबद्ध हुन अपिल गरेका छन् । समाजमा सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरु मार्फत थप मद्दत मिल्ने विश्वास प्रचण्डले व्यक्त गरेका छन् ।   हेर्नुस् शुभकामना वक्तव्यकाे पुर्ण पाठ-

किरात समुदायको उधौली तथा ज्यापू समुदायले मनाउने यमरी पुन्हि (ज्यापु दिवस) पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली किरात र ज्यापू समुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

समुदायका यसप्रकारका पर्वहरुले नेपालको सांस्कृतिक विविधताहरुलाई उँचो राखेका छन् । यिनै सांस्कृतिक पहिचानले सिंगो राष्ट्रको पहिचान र मौलिकता झल्काउँदछ । समाजमा सामाजिक, सांस्कृतिक ऐक्यवद्धता, सद्भाव र सहिष्णुताको संरक्षण एवं प्रवद्र्धन गर्न यी पर्वहरु मार्फत थप मद्दत मिल्ने विश्वास लिएको छु ।

नेपाली जनताको त्याग र बलिदानको बलमा प्राप्त वर्तमान संविधानको सफल कार्यान्वयनका लागि भएको स्थानीय प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगलाई थप मजबुत बनाएको छ ।

हालै सम्पन्न निर्वाचनका निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्दै दिगो, स्थिर र अग्रगामी समाज निर्माणका लागि एकतावद्ध भई अगाडि बढ्न पनि हार्दिक आग्रह गर्दछु । अग्रगमनकारी सोच र चिन्तनले नै मुलुकको आर्थिक विकास र समृद्धि हुँदै समाजवादी लक्ष्य हासिल गर्न सकिन्छ ।

अन्त्यमा, यस पर्वले सम्पूर्ण नेपालीहरुमा आपसी सद्भाव र सहिष्णुताको भावना विकास गरोस् भन्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

२२ मंसिर, २०७९
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष