गठबन्धन कायमै राख्ने माओवादी केन्द्रकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं, १७ मंसिर

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले वर्तमान वाम लाेकतान्त्रिक गठबन्धन कायमै राखेर अगाडि बढ्ने निर्णय गरेको छ ।  शनिबार अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले साे निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।  पदाधिकारी बैठकले निर्वाचनको समीक्षा प्रारम्भ गर्नुका साथै गठबन्धनको पक्षमा दृढतापुर्वक उभिएर अगाडि बढ्ने निर्णय गरेको उनलेे बताए ।
सरकार गठनका लागि नेकपा (एमाले) सहितका दलसँग छलफल गरेर अघि बढ्न सकिने विकल्प पनि खुला राख्ने विषयमा पनि छलफल गर्न सकिने उनको भनाइ छ ।

बैठकमा नेताले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिणाम अपेक्षाअनुसार नआएको समीक्षा गर्नुभएको महराले बताए । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पार्टी उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा भयो । अपेक्षा गरिएअनुसार हामीले सङ्घमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । चुनावको सबै परिणाम आएपछि त्यसमा गम्भीर समीक्षा हुन्छ ।’

उपाध्यक्ष महराले बैठकमा सत्तारुढ गठबन्धन छोड्ने सोचमा पार्टी नरहेको भए पनि अन्य विकल्प पनि खुला राख्ने निर्णय भएको बताउनुभयो । अर्को पदाधिकारी बैठकमा त्यस विषयमा थप छलफल गर्ने निर्णय माओवादीले गरेको छ ।