विश्वकप : पाेल्याण्डलाई २-० ले हराउँदै अर्जेन्टिना राउन्ड १६ मा, पाेल्याण्ड पनि पुग्याे

मूलखबर संवाददाता
काठमाडौं, १५ मंसिर

कतारमा जारी विश्वकपमा अर्जेन्टिना पाेल्याण्डलाई २-० गाेलले पराजित गर्दै  ‘राउण्ड अफ १६’ मा प्रवेश गरेको छ ।

बिहीबार बिहान पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो।

अर्जेन्टिनाका खेलाडी एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजकाे एक–एक गोलमा अर्जेन्टिनाले साे सफलता हाँसिल गरेको हाे ।

खेलको ३९ औँ मिनेटमा प्राप्त पेनाल्टीमा अर्जेन्टिना चुकेपछि पहिलो हाफमा अर्जेन्टिना गाेलरहित बनेको थियाे ।  अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए। उनको प्रहार पोलिस गोलकिपरले बचाएका थिए ।

४६ औँ मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए भने ६७ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–० गोलको जित दिलाएका थिए ।

यससँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। उसले ३ खेलमा ६ अंक जाेडेकाे छ ।

तीन खेलमा ४ अंक बनाएको पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।