लमजुङमा पृथ्वीसुब्बा विजयी, कुन उमेदवारले कति पाए मत ?

मूलखबर संवाददाता
काठमाडौं, ८ मंसिर

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङभन्दा ३ हजार १ सय ८८ मत बढि ल्याउँदै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन् ।

निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत पाएका छन् भने माओवादी महासचिव देव गुरुङले ३१ हजार ७ सय ८१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार कूल १ लाख ३३ हजार ५ सय ५९ मतदाता रहेकोमा ८० हजार १ सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ २ हजार ३ सय ८४ मत बदर भएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ हजार २ सय ३१ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले ४ सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले १ सय ४८ मत प्राप्त गरेका छन् ।

लमजुङको प्रदेशसभा-१ मा नेपाली कांग्रेसका उमेदवार टकराज गुरुङ निर्वाचित भएका छन्। उनीसँग नेकपा एमालेका जमिन्द्रमान घले १ हजार १ सय ६१ मतले पराजित भएका छन्।
२०७० को संविधानसभा निर्वाचनमा यो क्षेत्रमा दुवैजना चुनावी मैदानमा उत्रिँदा घलेले ७ सय ९८ मतले गुरुङलाई हराउँदै संविधान सभाको यात्रा तय गरेका थिए। यसपटक तिनै घलेलाई पराजित गर्दै गुरुङले प्रदेश सभाको यात्रा तय गरेका छन्।

जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार निर्वाचित गुरुङले १८ हजार ५ सय ४ मत पाएका छन्। निकटतम प्रतिद्वन्द्वी घलेले १७ हजार ३ सय ४३ मत पाएका छन्। निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन्।
लमजुङको प्रदेश-२ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन्। निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई ७ सय ५४ मतान्तरले पछि पार्दै पौडेलले प्रदेशसभाको यात्रा तय गरेका हुन्।

क्व्होलासोंथर गाउँपालिका, मध्यनेपाल, सुन्दरबजार र बेंसीसहर नगरपालिकाबाट ४१ हजार ८ सय ५७ मत खसेकोमा पौडेलले १९ हजार ५ सय ५७ मत पाए भने प्रतिद्वन्द्वी अधिकारीले १८ हजार ८ सय ३ मत पाए।

राप्रपा उम्मेदवार ततबहादुर गुरुङले १ हजार ९ सय ५७ मत पाएका छन्। मंगोल नेश्नल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४ मत पाएका छन्। जसपाका युवराज दुराले २ सय ४१ मत पाएका छन्। नेपाली कांग्रेस बीपीका नवराज बसौलाले १ सय ४५ मत पाएका छन्।