
काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीका तिनजना विजयी
काठमाडौंका तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले जित हाँसिल गरेका छन् । क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन्। उनी ८७४३ मत ल्याएर विजयी भएका हुन्। पराजुलीले निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेभन्दा झण्डै दुई हजार मतान्तर कायम गरे।
घिमिरेले ६ हजार ८०० मत ल्याएका हुन्। गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले ६०६३ मत प्राप्त गरिन्। काठमाडौं क्षेत्र नं २ को मतगणनाअनुसार प्रतिनिधिसभा सदस्यतर्फ रास्वपाका उम्मेदवार सोविता गौतम विजयी भएकी हुन् ।
सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाएकी छन् ।
काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो । काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी १० हजार १ सय ५ मत ल्याई विजयी भएका हुन् ।
