लमजुङमा ६० दशमलव ५८ प्रतिशत मतदान, २१ घण्टापछि मतगणना शुरू

मूलखबर संवाददाता
लमजुङ, ५ मंसिर

गण्डकी प्रदेशकाे लमजुङ जिल्लामा मतदान सम्पन्न भएको २१ घण्टापछि मतगणना शुरू भएको छ । प्रतिनिधि सभा र प्रदेश सभाकाे लागि मंसिर ४ गते आइतबार साँझ सम्पन्न भएको मतदानमा ६० दशमलव ५८ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

लमजुङमा ६० दशमलव ५९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कुल मतदाता एक लाख ३३ हजार ५ सय ५९ मत रहेको लमजुङमा ८० हजार ९ सय १७ मत अर्थात् ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।

जसमा महिलाको ४२ हजार ९३२ मत र पुरुषको ३७ हजार ९ सय ८५ मत खसेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

जिल्लाका १३० मतदान स्थलका १ सय ८८ मतदान केन्द्रहरुमा ६० दशमलव ५९ प्रतिशत मत खसेको हो ।

प्रतिनिधि सभाकाे लागि एक र प्रदेश सभाकाे लागि दुई  निर्वाचन क्षेत्र रहेको लमजुङमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधि सभाकाे लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी महासचिव देव गुरूङ र एमालेबाट उपमहासचिव पृथ्वी सुब्बा गुरूङ प्रतिस्पर्धामा रहेका छन् भने प्रदेश क मा गठबन्धनबाट डा. टकराज गुरूङ र एमालेका जमिन्द्रमान घले तथा प्रदेश ख मा गठबन्धनका  भेषबहादुर पाैडेल र एमालेका कृष्ण अधिकारी  प्रतिस्पर्धामा रहेका छन् ।