द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्छ – प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्ने बताएका छन् । गोरखा- २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।
शुक्रबार गोरखाको सिरानचोक- ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् ।
‘गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,’ प्रचण्डले भने- ‘द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्छ । म विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, दुई जनामध्ये गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न,’ प्रचण्डले भने, ‘नेपाली कांग्रेसका अहिलेका नेता साथीहरूसँग, प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग राम्रो समझदारी बनिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।’
उनले राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गरे । ‘राजनीतिक स्थायीत्वको निम्ति, संविधानको रक्षाको निम्ति र विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईंहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,’ प्रचण्डले भने, ‘जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।’
आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताउ ।
संविधानको रक्षा गर्ने र उपलब्धीको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।