निर्वाचनबारे महत्त्वपूर्ण जानकारी : कसरी भाेट हाल्ने ?

मूलखबर संवाददाता
काठमाडौं

१. स्थानीय तहका गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरूले दलको चुनाव प्रचारप्रसार गर्न पाउँछन् कि पाउँदैनन् ?
आफू निर्वाचित भएको पालिकाबाहेक अन्यत्र पाउँछन् तर त्यसरी अन्य पालिकामा प्रचारप्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न निर्वाचन आचारसंहिता, २०७९ ले रोक लगाएको छ ।

२. कार्यपालिकाको निर्णयानुसार करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्न मिल्छ कि मिल्दैन ?
नयाँ कर्मचारीलाई करारमा भर्ना गर्न मिल्दैन तर साविकमा कार्यरत करारका कर्मचारीहरूको म्याद थप्न आचारसंहिताले बाधा मानेको छैन ।

३. आयोगले मिडियालाई अनुगमन गर्न सेना र प्रहरीलाई प्रयोग गरेको हो ?
होइन, सञ्चारमाध्यमका सामग्रीमा आचारसंहिता उलंघन भए/नभएको विषयमा अनुगमन प्रेस काउन्सिल नेपाल मार्फत हुने गर्दछ ।

४. आधिकारिक र वास्तविक मतपत्रको नमूना आयोगले कहिले उपलब्ध गराउँछ ?
आयोगले वास्तविक मतपत्रको नमूना क्रमशः आयोगको website मार्फत सार्वजनिक गर्दै गइरहेको छ । त्यसका लागि https://election.gov.np/ लिंकमा गई हेर्न सकिनेछ ।

५. आगामी निर्वाचनमा मतपत्र कतिवटा हुन्छ र रंग कस्तो हुन्छ ?
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा रहेका आफूले इच्छाएको निर्वाचन चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचनको लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र तथा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्र हुनेछ ।

६. आगामी निर्वाचनमा कसरी मत दिने हो ?
सर्वप्रथम प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी १ नं. को मतपेटिकामा मतपत्र खसाल्नुपर्दछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फको कालो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. २ मा मत खसाल्ने, तत्पश्चात प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि रातो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी ३ नं. को मतपेटिकामा मतपत्र खसाल्ने र अन्त्यमा प्रदेशसभा सदस्य निर्वाचनतर्फ समानुपातिक निर्वाचनतर्फका लागि कालो रंगको निर्वाचन चिन्ह र विवरण भएको मतपत्रमा मतदान गरी मतपेटिका नं. ४ मा मतपत्र खसाल्नुपर्दछ ।

७. आफ्नो क्षेत्रको प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारहरूको नामावली कहाँबाट कसरी हेर्न सकिन्छ ?
मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा तथा निर्वाचन आयोगको वेभसाइटबाट हेर्न सकिनेछ ।