बजारमा सिटामोलको चरम अभाव, वास्तविक कि कृतिम ?
बजारमा सिटामोलको चरम अभाव भएपछि दुखाइ कम गर्न बिरामीहरू ब्रुफिनलगायतका औषधि सेवन गर्न बाध्य भएका छन् । डेंगी संक्रमण तीव्र बनेसँगै साताअघिदेखि सिटामोलको अभाव देखिएको हो । राजधानीका अधिकांश औषधि पसलले ग्राहकलाई सिटामोल नभएको भन्दै फर्काउन थालेका छन् । सिटामोल चरम अभाव हुनुका पछाडि डेंगी संक्रमण र आपूर्ति सहज नहुनुलाई प्रमुख कारण ठानिएको छ ।
उपत्यकामा मात्रै डेंगीका बिरामी १० हजार नाघिसकेका छन् । शंखमूल क्षेत्रका प्रायः घरमा संक्रमित छन् । स्थानीय टोल सुधार समितिले सिटामोल नपाएर बिरामीले सास्ती भोग्नुपरेको भन्दै वडा कार्यालयको सिफारिसमा मंगलबार नेपाल औषधि लिमिटेडसँग एक हजार फाइल माग गरेको थियो । तर, लिमिटेडले एक सय ५० फाइल सिटामोल मात्र उपलब्ध गरायो । एक फाइलमा १० चक्की हुन्छ ।
‘प्रायः घरमा दुई जना डेंगीका बिरामी छन्,’ स्थानीय मोतीरत्न शाक्यले भने, ‘एउटा फाइल एक दिनलाई मात्र पुग्छ । एक सय ५० फाइल कसलाई मात्र वितरण गर्ने रु’ अहिले बिरामी बुफ्रिनलगायत दुखाइ कम गर्ने औषधिको मिश्रणमा बनाइएको फ्लेक्सन खान बाध्य बनेको उनले बताए । शाक्यसँगै उनकी श्रीमती र छोराछोरी पनि डेंगी संक्रमित हुन् । फ्लेक्सनले स्वास्थ्यमा जटिलता निम्त्याउने स्वास्थ्यविद्हरू बताउँछन् ।
जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीका अनुसार डेंगीले सेतो रक्तकोष र प्लाज्मा कम गर्छ । ‘डेंगीका कारण बिरामीको नाक, मुख र पेटभित्र रक्तस्राव हुने गर्छ । त्यसमाथि फ्लेक्सन सेवनले रगत कम गर्छ,’ उनले भने, ‘यसले गर्दा जटिल समस्या निम्तिने जोखिम रहन्छ ।’ डेंगीका बिरामीमा १०३/१०४ डिग्रीसम्म ज्वरो आउने भएकाले पारासिटामोल नै आवश्यक रहेको उनको भनाइ छ । ‘वैकल्पिक औषधि सामान्य ज्वरो आउनेहरूले मात्र सेवन गर्ने हो,’ उनले भने ।
सिटामोल अभावले बिरामीले सास्ती भोग्नुपरे पनि राज्यका तालुकदार निकाय भने औषधि उपलब्ध गराउनमा खासै सक्रिय भएको देखिँदैन । फार्मेसी सञ्चालकका अनुसार डेंगीका कारण बजारमा सिटामोल अभावको मौका छोपेर व्यापारीहरू पारासिटामोलबाहेक अन्य औषधिको मिश्रण भएको सिटामोल बिक्री गरेर नाफा कमाउन चाहन्छन् । औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक बालकृष्ण खकुरेलले मिश्रणयुक्त औषधि बिक्री गर्न र पारासिटामोलको मूल्य बढाउन जानीजानी उत्पादन नगरेको बताए । ‘सरकारी टेन्डरमा व्यापारीहरूले ६५ पैसामा पारासिटामोल उपलब्ध गराउने सम्झौता गरेका हुन्छन्,’ उनले भने, ‘यसमा सबै जनाको मिलेमतो छ ।’
बजारमा सिटामोलको मूल्य एक रुपैयाँ छ । यही मूल्यमा पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ठेक्का पाएका कम्पनीले उपलब्ध गराउँदै आएका छन् । पाटन अस्पतालका निर्देशक डा।रवि शाक्यले दुई सातालाई पुग्ने स्टकमा रहेको र ठेकेदारले सप्लाई गर्दै आइरहेको बताए ।
सिटामोल अभावबारे बुझ्न खोज्दा औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘नेपाल औषधि उत्पादक संघसँग बुझ्नुस्,’ उनले भने । संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले निजी कम्पनीहरूले उत्पादन गरिरहेको दाबी गरे ।
‘एकै पटक माग ह्वात्तै बढेकाले समस्या निम्तिएको हो । त्यसमाथि जहाँ आवश्यक छ त्यहाँ नहुँदा पनि समस्या भएको हो,’ उनले भने, ‘खपत बढी भएको ठाउँको पहिचान गरेर पुनः वितरण गर्छौं ।’ औषधि आयात गर्न स्वीकृतिप्राप्त ५० वटा कम्पनीले नल्याउँदा पनि समस्या निम्तिएको उनको भनाइ छ । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले सरकारले उपलब्ध नगराएका कारण उपत्यकाबाहिर कम खपत भएको ठाउँबाट राजधानीमा ल्याइएको बताए । ‘हिजो नारायणघाटबाट एक सय फाइल आइपुग्यो,’ उनले भने, ‘अत्यावश्यक औषधि भएकाले उपलब्ध गराउन सरकारलाई पटक–पटक ध्यानाकर्षण गर्दै आइरहेका छौं ।’
नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बजेट अभावका कारण पर्याप्त उपलब्ध गराउन नसकेको दाबी गरे । ‘सात महिनाभित्र २ करोड ५६ लाख चक्की उत्पादन गर्दा २ करोड ५७ लाख घाटा भइसकेको छ,’ उनले भने, ‘जीवनजल, सेनिटाइजर, डिस्टिल वाटर उत्पादनबाट घाटा पूर्ति गरिरहेका छौं । यस्तै स्थिति हुने हो भने अन्य उत्पादन पनि ठप्प हुन बेर छैन ।’ औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक खकुरेलले एकैपटक धेरै संख्यामा उत्पादन गर्न सकेमा लागत मूल्य धेरै घट्ने बताए । ‘यसो गर्न सकेमा धेरै नाफा पनि कमाउन सकिन्छ तर यसो गर्दैनन्,’ उनले भने । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।सञ्जयकुमार ठाकुरले भने बजारमा ३ करोडभन्दा बढी चक्की उपलब्ध भएको दाबी गरे । ‘जहाँ आवश्यक छ त्यहाँ मात्र उपलब्ध नभएको हो,’ उनले भने ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ मूल्य बढाउन उद्योगहरूले उत्पादन घटाएर कृत्रिम अभाव सिर्जना गरेको बताउँछन् । लापरबाही गर्नेमाथि छानबिन गरी कडा कारबाहीको माग गर्दै उनले भने, ‘जनतालाई सामान्य सिटामोलसमेत उपलब्ध गराउन नसक्ने पनि सरकार हुन्छ रु’
बजारमा प्रायः नेपाली कम्पनी निको ब्रान्ड, भारतीय कम्पनी मेडोमोल र नेपाल औषधि लिमिटेडको सिटामोल आउँछ । मुलुकमा बर्सेनि १२ करोड चक्की सिटामोल खपत हुने गरेको छ ।-कान्तिपुरबाट