खाद्य संकट समाधान गर्न अमेरिकाले नेपाललाई करिब २ अर्ब अनुदान दिने घोषणा
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआईडी० ले नेपाललाई रुस–युक्रेनको युद्धबाट बढ्दैगएको विश्वव्यापी संकटबाट जोखिममा परेका जनतालाई जोगाउन करिब दुई अर्ब रुपियाँ सहयोग उपलब्ध गराउने भएको छ ।
नेपालस्थित अमेरिकी राजदूतावासबाट सोमबार जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ ।
विश्वव्यापी खाद्य संकटलाई सम्बोधन गर्न अमेरिकी सरकारले हालै घोषणा गरेको दुई अर्ब ७६ करोड अमेरिकी डलर अनुदानको एक हिस्सा स्वरुप नेपाललाई एक करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने भएको हो ।
युएसएआईडीका कार्यवाहक नेपाल मिसन निर्देशक बेथ होगनका अनुसार, मलको अभावले धान, मकै र अन्य महत्वपूर्ण बालीहरूको उत्पादन घट्दै गएकाले यो सहयोगले नेपालको कृषि क्षेत्र र किसानहरूमा व्यापक प्रभाव पार्ने विश्वास गरिएको छ ।
विज्ञप्तिमा छ, ‘‘यो थप कोषले मुख्यतया नेपाललाई उपभोग गर्न र बेच्नका लागि थप खाद्यान्न उत्पादन गर्न मद्दत गर्नेछ, जसलेगर्दा घरायसी खाद्य सुरक्षा र आम्दानीमा वृद्धि हुनेछ ।’’
खाद्यान्न, मल र इन्धनको बढ्दो मूल्यका कारण जीवन बचाउन र गरिबी, भोकमरी र कुपोषणमा थप वृद्धिलाई न्यूनीकरण गर्न अमेरिकी सरकारबाट अनुदान प्राप्त गर्ने ४७ भन्दा बढी देश र क्षेत्रीय संस्थाहरूमध्ये नेपाल पनि एक हो ।
यस सहयोगले नेपालको बढ्दो मूल्य र खाद्यान्न अभावबाट प्रभावितलाई पर्याप्त खानेकुरा सुनिश्चित गर्न मद्दत गर्ने विश्वास नियोगले गरेको छ । यो नेपाल–अमेरिका साझेदारी र चलिरहेको स्वास्थ्य र खाद्य सुरक्षा सहायता कार्यक्रमको ७५ वर्षको निरन्तरता हो । यी कोषहरूले पाँच वर्ष मुनिका बालबालिका र गर्भवती महिलाका लागि पोषण बृद्धि गरिएको खानालाई पनि सहयोग गर्नेछ ।