संसदमै उठ्याे गभर्नर अधिकारीबारे छानवीनकाे माग
प्रतिनिधिसभाका साँसदहरूले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबारे छानवीन गरिनुपर्ने माग गरेका छन् । एमालेले अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका ‘एम अधिकारी’ सदस्य रहेको मंगलबार मात्रै सार्वजनिक भएको थियो । ती एम. अधिकारी भन्ने व्यक्ति अरु कोही नभएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्ने सार्वजनिक चर्चा भइरहेका बेला सांसदहरूले भने छानबिन माग गरेका छन् ।
गभर्नर अधिकारीका पछिल्ला गतिविधिले पनि उनले सरकारलाई असहयोग गरी प्रतिपक्षको निर्देशनमा चलेर सर्वसाधारणमा मुलुकको अर्थतन्त्रलाई लिएर ‘आतंक मच्चाएको’ भन्दै त्यसमा रोक लगाउन सभामुख अग्निप्रसाद सापकोटासँग सांसदहरूले रुलिङको पनि माग गरेका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ माओवादी केन्द्रकी सांसद रेखा शर्माले गभर्नरमाथि छानबिन गर्नुपर्ने माग गरिन् । राष्ट्र बैंकका गभर्नर अधिकारीले सरकारको निर्देशन तथा नीति पालना गरिरहेका छन् कि प्रमुख प्रतिपक्ष एमालेको भनेर पनि प्रश्न गरेकी थिइन् । ‘एमालेको अर्थ तथा योजना विभागको सदस्य रहने महाप्रसाद अधिकारी अर्थतन्त्र सम्हाल्नुपर्नेमा अर्थतन्त्र बिगार्न लागिरहनुभएको छ । उहाँका विषयभा गम्भीर छानबिन गरियोस्,’ उनको भाग थियो ।