उपमहानगरपालिकामा माओवादीको पहिलो जित : राजन पौडेलले लिए जितपुर सिमराको नेतृत्व
उपमहानगरपालिकामा पहिलोपटक माओवादी केन्द्रले जित निकालेको छ । देशभर रहेका ११ वटा उपमहानगरपालिकामध्ये बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित भएका छन् । पौडेल १८७४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सरस्वतीदेवी चौधरीले १७७७९ मत प्राप्त गरेकी छन् ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सञ्जयकुमार साहले ५३८२ मत प्राप्त गरेका छन् भने राप्रपाका माधवप्रसाद त्रिपाठीले १३०२ मत प्राप्त गरेका छन् ।
जीतपुरसिमरा : सत्ता गठबन्धनका एक्ला उम्मेदवार राजन, एमालेकी उम्मेदवारलाइ अख्तियारकाे पत्र
को हुन् माओवादीबाट मेयरमा निर्वाचित राजन पौडेल ?
नेपालको आमुल परिवर्तन र विकास देशको व्यवस्था बदलिएमात्रै सम्भव छ भन्ने यथार्थ बुझेका एक जना भिजनरी र कर्मठ युवा हुन् राजन पौडेल । त्यसैले पनि कलिलै उमेरमा उनले सबै प्रकारका आकांक्षा त्यागेर महान जनयुद्धमा होमिए ।
२०३५ चैत १० गते धादिङमा जन्मिएका राजन पौडेल २०४४ सालदेखि सिमरामा निरन्तर बसोबास गर्दै आएका छन् । स्कुले जीवनमा पढाइमा अब्बल रहेका पौडेलले २०५२ सालमा प्रथम श्रेणीमा एसएलसी उर्तीण गरे । काठमाडौं क्याम्पसबाट ग्रामीण विकास र समाजशास्त्रमा उनले स्नातक गरे ।
क्याम्पस पढ्दा पढ्दै राजन पौडेल २०५६ सालदेखि तत्कालीन नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट विधार्थी राजनीति शुरु गरे । २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बने ।
लगत्तै २०५८ सालमा पाटन संयुक्त क्याम्पसबाट राजन पौडेललाई सेनाले गिरफ्तार गरयो । करिब एक वर्षको जेल जीवनपछि रिहा भए । फेरि उनी पार्टीकै काममा फर्किए । २०६० सालमा मकवानपुर धादिङ उनको कार्यक्षेत्र बनेको थियो । त्यस क्षेत्रमा खटिएको केही महिनामै पौडेललाई त्यही साल विरगञ्जबाट सेनाले गिरफ्तार ग¥यो । सेनाको चरम यातना, दमन सहेर पनि राजन पौडेलले जेलभित्रैबाट आन्दोलन थाले ।
सम्झदा पनि आङ सिरिङ्ग हुने गरी सुन्दरीजल जेलमा उनले २४ दिन आमरण अनशन बसे । पछिल्लो पटक जेल पर्दा पौडेलले पटक पटक गरी करिब ८० दिन आमरण अनशन बसी आन्दोलन गरे । डिल्लीबजार सदरखोर, वीरगञ्ज कारागार, भद्रगोल जेल, सर्लाही जेल र सुन्दरीजल जेलजस्ता सबै कारागारमा राजन पौडेलले अति कठिन र सिनेमाको कहानी जस्ता लाग्ने तीता विगतहरु भोग्नुपरेको थियो ।
राजन पौडेल नेकपा (माओवादी) राजनीतिक मुलधारमा आएपछि मात्रै २०६३ जेष्ठ १० गते लामो जेल जीवनबाट मुक्त भएका हुन् । त्यसयता बारा जिल्लामा रहेर निरन्तर पार्टी राजनीतिमा क्रियाशील उनी जिल्ला कमिटी सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य समेत भइसकेका थिए । हाल उनी नेकपा (माओवादी केन्द्र मधेस प्रदेश कमिटीको सदस्य छन् ।
अध्ययनशील, स्पष्ट र सशक्त भिजन भएका राजन पौडेल जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयर पदमा उम्मेदवार बनेका छन् । यस उपमहानगरलाई आफ्नो कार्यकालमा नमुना नगर बनाउने सपना बुनेका छन् । उनी विवादमुक्त माओवादी नेता हुन् । उनलाई बौद्धिक, वैचारिक, सरल जीवनशैली र पारदर्शी नेताका रुपमा जीतपुरसिमरामा चिन्ने गरिन्छ ।