स्थानिय निर्वाचनमा २० हजार पर्यवेक्षक, कस्तो होला अनुगमन ?

मूलखबर संवाददाता
काठमाडौं, १९ बैसाख ।

देश निर्वाचनमय भएको छ । स्थानिय निर्वाचन आउन मात्रै ११ दिन बाँकी छ । पछिल्ला ३ दिनको मौन अवधि छाडेर जम्मा ८ दिन मात्रै निर्वाचन तयारीको लागि दलहरुलाई र उमेदवारलाई छ ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको जनाएको छ । निर्वाचन आयोगले अनुमानित संख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको संख्या २० हजार पुगेको निर्वाचन वैदेशिक शाखाका उपसचिव कमल भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्मको विवरणमा पर्यवेक्षकको संख्या २० हजार पुगेको हो । सो संख्यामा पर्यवेक्षक खटाउने प्रस्ताव गरिएकोमा अहिलेसम्म पनि पर्यवेक्षकको विवरण आउने क्रम जारी रहेकाले अहिले नै पर्यवेक्षकको कूल विवरण आइनसकेको हो ।

चुनावमा कसले कुन चिन्ह पाए ? स्वतन्त्रले पाए यस्ता चिन्ह

समितिले स्थानीय तहको निर्वाचनका लागि आफ्नो संस्थाबाट ४० जिल्लामा ४० जना पर्यवेक्षकहरु लामो समयका लागि नियुक्त गरी परिचालन गरिसकेको जनाएको हो । समितिले ७७ जिल्लामा चार सय छोटो अवधिका पर्यवेक्षक खटाउने पनि जनाएको छ । यस्तै, निर्वाचन पर्यवेक्षण गर्ने पर्यवेक्षकका लागि स्थानीय तह निर्वाचन पर्यवेक्षण आचारसंहिता, २०७३ लागू गरिएको छ।

यो आचारसंहिता निर्वाचन आयोगले २०७८ चैत २५ देखि लागू गरिसकेको छ । आचारसंहिता सबैले अनुशासित भएर कानूनमा उल्लेख भएका विषयहरु राम्रोसँग परिपालना गर्नुपर्ने सन्देश हो ।

राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन, सार्वजनिक पदाधिकारी र मतदाता सबैले एउटै कानूनभित्र रहेको काम गर्न हुने र नहुने विषयको जानकारी पाउने भनेर आचारसंहिता जारी गरी लागू गरिएको हो। आयोगबाट आचारसंहिता लागू भइसकेपछि उम्मेदवारको मनोनयन पत्र पनि दर्ता भइसकेको छ।