रोशी गाउँपालिका उपाध्यक्षमा माओवादी युवा प्रकाश लामाले दिए स्वतन्त्र उमेदवारी
काभ्रे जिल्लाको रोशी गाउँपालिकामा माओवादी केन्द्रका युवा नेता तथा जिल्ला सदस्य प्रकाश लामाले गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेस नेकपा माओवादी सहितको गठबन्धनबाट माओवादी केन्द्रको भागमा उपाध्यक्ष परेपछि जिल्ला सहइन्चार्ज समेत रहेका मिम बहादुर वाइवा ज्वालालाई पठाउने निर्णय पार्टीले गरेको थियो । तर अन्य पद तथा मनोनयनको निर्णयबारे कुनै छलफल नगरी एकलौटी ढंगले निर्णय लादेर आफूहरुमाथि अन्याय गरेकोले उमेदवारी दिन बाध्य भएको लामाले बताएका छन् । प्रकाश लामा नेकपा माओवादी केन्द्रको रोशी गाउँपालिकाको निर्वाचित उपाध्यक्ष पनि हुन् ।
लामाले मनोनयनको अन्तिम दिन उपाध्यक्षमा मनोनयन दर्ता गरेका बताएका छन् । उनले आफ्नो उमेदवारी पार्टीभित्र देखा परेको सर्वसत्तावादी र अहम प्रवृतिको विरुद्ध भएको पनि बताएका छन् । साथै उनले आफू निरन्तर माओवादी पार्टीको पक्षमा लागिरहेको एक अथक सिपाही भएको तर अहिले पार्टीले नै गरेको अन्यायको प्रतिकारमा यस्तो कदम चालेको बताएका छन् । उनले आफूलाई रोशीका बहुसंख्यक युवा र जनताको विश्वास र साथ भएको दावी गर्दछन् ।