माधव नेपाल पनि आइसाेलेसनमा, पार्टीका भेला सम्मेलन पनि स्थगित

मूलखबर संवाददाता
काठमाडौं, २७ पुस

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण देखिएको थियो ।

कोरोना देखिनुभन्दा अघिल्लो दिन गठबन्धन बैठकका क्रममा प्रचण्डसँग भेट भएको थियो । कन्ट्रयाक ट्रेसिङका कारण नेपाल आइसोलेसनमा रहेको र पीसीआर रिपोर्ट नआएसम्म भेटघाट तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ । यसअघि कन्ट्र्याक ट्रेसिङमा परेका कारण प्रधानमन्त्री शेरबहादुर देउवा पनि आइसोलेसनमा थिए । तर, उनको रिर्पोट निगेटिभ आएको छ ।

पार्टीका सभा सम्मेलन स्थगित गर्न निर्देशन
यसैबीच अध्यक्ष नेपालले बढी मानिस भेला हुने सभा तथा सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिल प्रकाशित गर्दै अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दा वैकल्पिक विधि अपनाउनसमेत आग्रह गरेका छन् ।

‘संक्रमण दर बढ्न नदिन सरकराले जारी गरेका निर्देशन कडाइका साथ पालन गर्न र गराउन पार्टीपंक्तिलाई निर्देशन गरिन्छ,’ अपिलमा भनिएको छ, ‘धेरै व्यक्ति उपस्थित हुने सभा तथा सम्मेलन हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमको आयोजना गर्दा सकेसम्म वैकल्पिक व्यवस्था अपनाउनसमेत निर्देशन गरिन्छ ।’

त्यसैगरी, स्वास्थ्य मापदण्ड पालन गरेर मात्रै पार्टीको कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेता तथा कार्यकर्तालाई कार्यक्रममा मास्क, सेनिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरेर मात्रै कार्यक्रम चलाउन भनेका छन् । निर्देशनमा कार्यक्रममा सहभागीलाई थर्मल गन प्रयोग गरेर शरीरको तापक्रम जाँच्न पनि आग्रह गरेका छन् । त्यसैगरी, सार्वजनिक स्थलमा भीडभाड नगर्न र कार्यक्रममा पनि तोकिएको व्यक्ति मात्रै सहभागी हुनसमेत निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले कोरोनाविरुद्धको खोप नलगाएका व्यक्तिलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । खोप नलगाएकाहरूलाई आवश्यक सहयोग र उत्प्रेरित गर्ने काममा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘एकपटक पनि कोरोना भाइरसविरुद्धको खोप नलगाएका १८ वर्षमाथिका सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टीपंक्ति परिचालन हुन निर्देशन गरिन्छ ।’