ओलीकाे झुटविरूद्व प्रचण्डकाे विज्ञप्ति : केपी झुट, बेइमान र धाेकाकाे अर्को नाम

मूलखबर संवाददाता
काठमाडौं

पुर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली झुट, वेइमानी र धाेकाकाे अर्को नाम भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले आफुले वर्तमान विश्व भुमण्डलिकरण र साम्राज्यवादी अर्थनीतिबारे गरेकाे विश्लेषण सहि रहेकाे दाबि गरेका छन् । तर नेपाली शेयर लगानीकर्ता र शेयर हाेल्डरकाे सुरक्षा र पक्षमा आफू रहेकाेमा कुनै भ्रम नलिन आग्रह पनि गरेका छन् ।

प्रेस वक्तव्य

दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म, के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।

०१ पुष, २०७८
……………………………
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष