सबै वडामा आज माओवादी केन्द्रको अधिवेशन, सबै तयारी पूरा, सदस्य साँढे ७ लाख

मूलखबर संवाददाता
काठमाडौं

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले देशैभर एकै साथ वडा अधिवेशन गर्दैछ । पार्टी प्रवक्ता कृषबहादुर प्रवक्ता महराले सामाजिक सञ्जालमा सार्वजनिक गरेको विज्ञप्ति अनुसार पार्टीले वडा सम्मेलनको सबै तयारी पूरा गरेको छ । ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ नाराका साथ माओवादीले वडा सम्मेलन गर्न लागेको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार एकै दिन छ हजार ७४३ वडामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्दैछ । वडादेखि केन्द्रीय तहसम्म निर्वाचन प्रक्रिया पूरा हुँदा सो पार्टीका तीन लाख कार्यकर्ताले कम्तीमा एउटा पदीय जिम्मेवारी पाउनेछन् भने आठ हजारभन्दा धेरै समिति गठन हुनेछन् ।

वडादेखि केन्द्रसम्म सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गर्ने योजनाअनुसार बनेको केन्द्रीय निर्वाचन आयोगले ७७ जिल्ला तथा सातवटा प्रदेशमा निर्वाचन समिति बनाएर आफ्नो काम गरिरहेको छ । निर्वाचन समितिमा रहने सदस्यलाई सो आयोगले तालिम तथा प्रशिक्षण यसअघि नै सञ्चालन गरेर देशव्यापी रूपमा खटाएको छ ।

आउँदो पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलनको क्रममा शनिबार वडा सम्मेलन हुने भएको हो । पार्टीले केन्द्र बाहेकमा तीन चरणमा सम्मेलन गर्ने निर्णय गरेको छ । जसअनुसार वडा सम्मेलनपछि यही मङ्सिर ११ गते पालिका तथा नगर सम्मेलन र २५ गते प्रदेश सम्मेलन सम्पन्न हुने केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन गराउन आयोगले प्रदेशमा सात सदस्यीय, पालिकामा पाँच सदस्यीय र वडा तहमा तीन सदस्यीय निर्वाचन समिति बनाएर जिम्मेवारी प्रदान गरेको छ ।

सङ्गठित सदस्य सात लाख
माओवादी केन्द्रको पार्टीको सङ्गठित सदस्यको सङ्ख्या छ लाख ७५ हजार पुगेको छ । बिहीबार साँझसम्म साढे पाँच लाख सदस्यको विवरण अभिलेख गरिएको तथा एक लाख २५ हजारको अभिलेखीकरणको काम भइरहेको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
उहाँले नयाँ सदस्यता अभियान सञ्चालन गरेसँगै सङ्गठित सदस्यको सङ्ख्या छ लाख ७५ हजार पु¥याएको छ ।

देशभरका वडामा एकैसाथ हुने वडा सम्मेलनमा एकताबद्ध भएर लाग्न नेकपा माओवादी केन्द्रले अपिल गरेको छ । पार्टीका नेता तथा कार्यकर्तालाई विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर लाग्न शुक्रबार पार्टी प्रवक्ता महाराले विज्ञप्ति जारी गर्दैै अपिल गर्नुभएको छ ।

समाजवादको यात्रा पूरा गर्न जनस्तरदेखि नै परिवर्तन आवश्यक रहेको जारी विज्ञप्तिमा बताइएको छ । साथै सकेसम्म सर्वसम्मत रुपमा समिति चयन गर्न पनि विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

‘पार्टीको मुख्य आधार भनेको तल्लो तहमा रहेर काम गरिरहनुभएका आम नेता, कार्यकर्ता र जनसमुदाय हुनुहुन्छ । समाजवादको यात्रा तय गर्न जनताको तहदेखि नै परिवर्तन हुन जरुरी छ, शुक्रबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै वडा सम्मेलनको क्रममा विभाजित मनोविज्ञान एवं मानसिकता नराखी एकताबद्ध भएर समाजवादी क्रान्तिको यात्रामा लाग्न आम समुदायलाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

‍आगामी मङ्सिर ११ गते सबै पालिकामा र मङ्सिर २५ गते सातै प्रदेशमा माओवादी केन्द्रले नेतृत्व चयनका लागि सम्मेलन गर्ने जनाएको छ । यस्तै पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ ।