परिवर्तनविरोधीहरु सलबलाए, परिवर्तनपक्षधर चनाखो बनौं : मन्त्री शर्मा
नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमूख जनार्दन शर्माले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा देशको एक नम्बरको पार्टी बनाउन नेता कार्यकर्तासम्म रुपान्तरणको आवश्यकता रहेको बताएका छन् ।
लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा भएको दशैं, तिहार, छठ, नेपाल संवत लगायतका चाडपर्वको अवसरमा शुभकामना कार्यक्रममा बोल्दै शर्माले एकता संघर्ष रुपान्तरणमार्फत नै पार्टी निर्माण हुँदै आएको बताए । उनले अहिलेका सम्पूर्ण परिवर्तनको एजेण्डा माओवादीकै भएको र देशको राजनीति माओवादी एजेण्डाकै वरिपरि घुमिरहेको बताउँदै एजेण्डाको संस्थागत र परिवर्तनको अनुभुति दिलाउन नेता कार्यकर्ता रुपान्तरण भएर जनतामा जानुपर्ने बताए ।
उनले आगामी माधिबेशनको तयारीमा पार्टी लागिसकेको बताउँदै देशभर ३४ लाख संगठीत शक्ति बनाउने योजना रहेको बताए । उनले पार्टी र नेता जनताबाट अलग त्यसो थलग भएकोमा चिन्ता व्यक्त गर्दै आफूले त्यसैको लागि अर्थमन्त्री भएपछि ल्याएको बजेटमा जनमुखी र जनयुद्धकेन्द्रीत नीतिहरु समावेश गरेको बताए । उनले जनयुद्धका शहीद परिवारलाई मासिक ३ हजार, घाइते अपांगलाई निशुल्क उपचार, ५ लाख गरीबलाई १० हजार दिने लगायतका योजनाहरु आफूले बजेटमा समावेश गरेको बताए । त्यसैगरी उनले महिला पहिला कार्यक्रम, युवा, विद्याथी र उत्पीडित क्षेत्र लक्षीत कार्यक्रमहरु ल्याएर समाजवादको आधार तयार बनाउन खोजेको बताए ।
शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा वर्ग संघर्ष, जनयुद्ध, शान्ति सम्झौता, शान्ति प्रक्रिया, संविधान निर्माणको काम र प्रतिगमन विरुद्धको आन्दोलन समेत सफल भएको चर्चा गर्दै अव समाजवादी क्रािन्त पनि प्रचण्डकै नेतृत्वमा सम्पन्न हुने बताए ।
उनले परिवर्तनविरोधीहरु एक भएर प्रचण्डको विरुद्ध हमला गरिरहेको बताए । उनले प्रचण्डको रक्षा गर्नु सबै क्रािनतकारी माओवादी र परिवर्तनकामी शक्तिको दायीत्व भएको पनि स्पष्ट पारे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सचिव देवेन्द्र पराजुली, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिलबहादुर गुरुङ, प्रेस सेन्टर नेपालका नेता सन्तोष पौडेल, प्राध्यापक इश्वर न्यौपाने, कानुनविद कृष्ण पोखरेल लगायतले शुभकामना मन्त्व्य राखेका थिए । बक्ताहरुले लमजुङ राजनीतिक इतिहास, वलिदान, त्याग र विद्धता तथा प्राकृतिक रुपले सम्पन्न हुँदा हुँदै पनि राज्य र पार्टीले उचित मुल्यांकन गर्न नसकेको बताएका थिए ।
समितिका अध्यक्ष गुणराज घिमिरेको सभापतित्व र उपाध्यक्ष ठाकूर बरायलीको संचालनमा सम्पन्न कार्यक्रममा सावित्रा कोइरालाले स्वागत भाषण गरेकी थिइन् भने प्रमुख अतिथि जनार्दन शर्मालाई लमजुङको नक्सा र कम्युनिष्ट पार्टीको झण्डा अंकीत मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा लमजुङबाट काठमाडौं आइ विभिन्न पेशा व्यवसायमा सहभागि माओवादी केन्द्र निकट बुद्धिजीवि, शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।