सुदुरपश्चिममा वर्षाको वितण्डा, सडक अवरुद्ध, धानबाली पुरै डुबानमा

मूलखबर संवाददाता
काठमाडौं, २ कात्तिक ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीले गाउँ वस्तीका साथै धान खेत पुरै डुवानमा परेको छ । अविरल वर्षका कारण सडकहरु अवस्द्ध बनेका छन् भने ठाउँठाउँमा पहिरो गएर सडक र पुलहरु क्षतीग्रस्त बनेका छन् ।

कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।

 

लगातारको वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गृहमन्त्रालयका अनुसार बाढी र पहिरोका कारण कालीकोट र डडेलधुरामा एक/एक जनाको मृत्यु भएको हो भने एक/एक जना घाइते भएका हुन् ।

अविरल वर्षाका कारण कालीकोटको महाबै गाउँपालिका–७ राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ । अधिकारीकी १५ वर्षीया छोरी युनिसा अधिकारी घाइते भएकी छन् । युनिसालाई घरले पुरेको अवस्थामा उद्धार गरिएको थियो । उनको अवस्था सामान्य रहेको गृहमन्त्रालयले जनाएको छ ।

यस्तै डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका विष्णु अवस्थीको कच्ची घरमाथि पहिरो खस्दा उनको मृत्यु भएको छ । घरमाथि पहिरो खस्दा ३२ वर्षीय अवस्थी र उनकी ६ वर्षीया छोरी सरिता घाइते भएका थिए । च्यापिएको अवस्थामा दुवै जनालाई उद्दार गरी उपचारका लागि डडेलधुरा अस्पताल लगिएको भएपनि विष्णु अवस्थीलाई चिकित्सले मृत घोषणा गरेका थिए । सरिताको भने सोही अस्पतालमा उपचार भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

अविरल वर्षासँगै सेती नदीमा आएको बाढीमा ६० जना फसेका छन् । बैतडीको सिगास गाउँपालिका-५ को ढुङ्गाडमा बाढीका कारण १० परिवारका करीब ६० जना फसेका हुन् ।

वडाध्यक्ष रामबहादुर धामीले सोमबार राति आएको बाढीले सेती नदी छेउकै बस्तीमा बस्दै आएका ६० जना फसेको जानकारी दिए ।

‘बाढीले सेती नदीको छेउमा रहेको खेतबारी बगाउँदै अग्लो भागमा रहेको बस्तीलाई समेत कटान गरेर दुई भाग बनाएको छ,’ वडाध्यक्ष धामीले अनलाइनखबरसँग भने, ‘नदी दुवैतिर बग्दा उनीहरु टापुमै अड्किएका छन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल पनि बगाउँदा उद्धारमा कठिनाइ भइरहेको छ ।’

सेतीको बाढीमा फसेका स्थानीयहरुको उद्धार गर्न प्रदेश सरकार र संघीय सरकारलाई समेत आग्रह गरिरहेको बताउँदै वडाध्यक्ष धामीले प्रतिकूल मौसमका कारण थप समस्या भइरहेको बताए ।

मौसम बिग्रिएपछि हवाई उडान प्रभावित

निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ ।

विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् ।