नियुक्तीमा विवाद र प्रश्न उठेपछि मन्त्री हमालले दिए राजीनामा
तिनदिन अघि नियुक्त भएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले नियुक्तीमा विवाद र निरन्तर प्रश्न उठेपछि पदबाट राजीनामा गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए।
आज बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए। उनले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ ।
उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।
मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा बुझाएको मन्त्री हमालले बताएका छन् ।
राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’
हमाल कांग्रेस बाँकेका पूर्वसभापतिसमेत हुन्। उनी २०५३ देखि ०५६ सम्म बाँके कांग्रेस सभापति रहेर काम गरेका थिए। देउवाले कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पनि उनी बाँके सभापति भएका थिए।