सोमबार पनि नेप्से घटेपछि लगानीकर्तालाई बनायो निरास, कति घट्यो त ?

मूलखबर संवाददाता
काठमाडौं, ११ असोज ।

केही समय यता बढ्दै घट्दै गरेको शेयर बजार परिसुचक नेप्से आइतबार र सोमबार पनि लगातार घटेपछि लगानीकर्ताहरुमा निराशा छाउन थालेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको हो । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले कम हो ।

आइतबार करिब ६१ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो ।

दिनभरको कारोबारमा करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।

पछिल्लो समयमा नेपालमा साना लगानीकर्ताहरुको आकर्षण शेयर बजारमा उत्साहजनक रुपमा बढिरहेको थियो । करिब ३५ लाख बढिले डिम्याट एकाउण्ट खोलेका छन् भने २५ लाख जतिले त कारोबारमा संलग्न नै भइरहेका देखिन्छन् । सोमबार लगातार घटेको नेप्सेले ती साना लगानीकर्ताहरु निराश बन्ने वातावरण बनेको हो ।