
४२ दिनपछि गण्डकी प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता, को को भए मन्त्री ?
गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको ४२ दिनपछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २९ जेठमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन मुख्यमन्त्रीसँगै चार मन्त्रीले शपथ खाएका थिए । मुख्यमन्त्रीले नियुक्त भएको ४२ दिनपछि थप ६ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारसँगै पूर्णता दिएका हुन् ।
हाल प्रदेशमा ११ मन्त्रालय रहेका छन् । ११ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसँगै पाँच, नेकपा माओवादी केन्द्रले चार, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक–एक मन्त्रालयको जिम्मा पाएका छन् ।शुक्रबार नियुक्त भएका ६ जना मन्त्रीमध्ये कांग्रेस र माओवादीका तीन–तीनजना रहेका छन् । कांग्रेसका तर्फबाट बाग्लुङका मणिभद्र शर्मा कँडेल पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्याङ्जाका मेखलाल श्रेष्ठ शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास र कास्कीका बिन्दुकुमार थापा कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्रीमा नियुक्त भएका हुन् ।
यसैगरी माओवादीतर्फबाट रामजी बराल अर्थ, बाग्लुङका चन्द्रबहादुर बुढा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र स्याङ्जाका दीपक चर्तीमगर वन, वातावरण तथा भूसंरक्षणमन्त्री नियुक्त भएका छन् । नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले शपथ खुवाएकी थिइन् ।
एक मन्त्रीको जिम्मेवार हेरफेर
२९ जेठमा नियुक्त मुख्यमन्त्रीले प्रदेशमा रहेका ११ मन्त्रालयको जिम्मा सबै आफैँले राखेर अन्य चार मन्त्रीलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । गठबन्धन बनाएका चार दलमा कुन मन्त्रालय कसले लिने भन्ने विषयमा सहमति नहुँदा मन्त्रीहरूलाई कुनै जिम्मा दिइएको थिएन ।
विनाविभागीयमन्त्री नियुक्त भएको १६ दिनपछि १३ असारमा मुख्यमन्त्रीले कांग्रेसका कुमार खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास, माओवादीकी मधुमाया अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिने तयारी गरेका थिए । तर, चार मन्त्रीमध्ये खड्का र अधिकारीले मुख्यमन्त्रीले तोकेको मन्त्रालय सोही दिन स्वीकार गरे पनि आचार्य र मनाङेले अस्वीकार गरेका थिए ।
१३ असारमा मुख्यमन्त्रीले तोकेको मन्त्रालयको जिम्मा लिन अस्वीकार गरेका आचार्य र मनाङेले नियुक्त भएको ३० दिनपछि २७ असारमा सोही मन्त्रालयको जिम्मा सम्हालेका थिए । शुक्रबार मन्त्रिमण्डलले पूर्णता पाएसँगै १३ असारमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मा पाएका कांग्रेसका खड्काको जिम्मेवारी हेरफेर गर्दै उनलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिइएको छ ।
