विश्वासको मत नपाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, मनाङेले दिए राजीनामा, यसरी बन्छ नयाँ सरकार
विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् ।
प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए । तर उनको पक्षमा २७ मत आएको छ भने विपक्षमा ३० मत खसेको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।
मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमविक्रम शाहीले भने विपक्षमा मतदान गरेका थिए ।
अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।
यसरी नयाँ सरकार गठनको प्रक्रिया
१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।
उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।
अब प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधारमा प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ ९सभामुखबाहेक०, जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन तयार छन् ।
मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिवर्तन गरेर विपक्षी गठबन्धनतिर आएका छन् ।
गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री पदमुक्त भएकाले आफू पनि नैतिकरुपमा मन्त्री रहन नहुने जनाउँदै गुरुङले बिहीबार राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । पछिल्ला राजनीतिक घटनाक्रमले सरकार निर्माण हुन नसकी प्रदेश सभा विघटनको संघारमा पुग्न लागेकोले संसद् बचाउन आफू मन्त्री पद त्याग्दै विपक्षी गठबन्धनमा सामेल भएको समेत मनाङेले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
मनाङेको राजीनामा पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाइएको छ । मनाङे मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा प्रदेशसभामा अनुपस्थित भएका थिए । नयाँ सरकार गठन गर्न या प्रदेश सभा विघटन गर्न मनाङेको मतलाई निर्णयक मानिदै आएको छ ।
मनाङे मनाङ क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।