काभ्रेमा कोरोना : एक महिनामा ७० ले गुमाए ज्यान, डाँडापारी र कोशीपारी पनि संक्रमण भयावह

मूलखबर संवाददाता
धुलिखेल, ६ जेठ

काठमाडौं उपत्यकाको प्रवेशद्वाराको रुपमा रहेको काभ्रे जिल्लामा कोरोना संक्रमण तीब्र गतिमा फैलिइरहेको छ । जिल्लाको शहरी इलाकाका तीन नगरपालिका बाहेक ग्रामीण भुभाग र गाउँपालिकाहरुमा पनि कोरोना संक्रमण बढ्दो गतिमा छ । बनेपा नगरपालिका, धुलिखेल नगरपालिका र पनौती नगरपालिकामा समुदाय स्तरमै कोरोनाको संक्रमण फैलिएपछि बनेपा नगरपालिकाले नगर क्षेत्र पुरै सिल गरेको छ भने अन्यमा लकडाउन र निषेधाज्ञा कडा पारिएको छ ।

जिल्लाको कोशी पारीका गाउँपालिका र डाँडापारीका गाउँपालिकाहरुमा पनि कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेको छ ।
पछिल्लो दिन हिजो मात्रै खानी खोला गाउँपालिका वडा नं ४ मा १९ जनामा गरिएको पििसआर मध्ये १२ जनामा संक्रमण पुष्टि हुनुले संक्रमणको भयावह अवस्थाको आंकलन गर्न सकिन्छ । जसमा दुई स्वास्थ्यकर्मी र १२ वर्षीय एक बालक समेत संक्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा। नरेन्द्रकुमार झाका अनुसार जेठ १६ यता कोराना संक्रमितको दैनिक मृत्यु भइरहेको छ । धुलिखेल नगरपालिकाका १७, बनेपाका १३, पनौतीका ६, मण्डनदेउपुरका ४, चौरीदेउराली गाउँपालिकाका २, नमोबुद्ध नगरपालिकाका २, पाँचखाल नगरपालिका र रोशी गाउँपालिकाका १र१ जनाको मृत्यु भएको उनले जानकारी दिए । धुलिखेल अस्पतालमा उपचार गराएका अन्य जिल्लाका २४ जनाको पनि मृत्यु भएको छ ।

संक्रमितको उपचार र व्यवस्थापनमा खटिएका धुलिखेल अस्पतालका आकस्मिक विभाग प्रमुख डा। सानुकृष्ण श्रेष्ठले विभिन्न कारणले संक्रमितको मृत्यु भइरहेको बताउँदै भने, ‘जटिल समस्या नदेखिईकन अस्पताल आउँदैनन् । प्रायः ज्येष्ठ नागरिक, दीर्घरोगी र अन्य जटिल रोग भएकाको मृत्यु धेरै भइरहेको छ ।’ उनका अनुसार अन्य स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि रेफर भएर आएकाको मृत्यु भइरहेको घटना बढी छन् ।

भेन्टिलेटरलगायतका सुविधा पर्याप्त नभएको र प्रयोग गर्न अनिच्छा प्रकट गरेका कारण पनि कतिपय अवस्थामा बिरामीको मृत्यु हुने गरेको छ । ‘अरू स्वास्थ्य संस्थामा उपचार गराएर आउँदा नै अवस्था जटिल भइसकेको हुन्छ, भेन्टिलेटरको सुविधा उपलब्ध गराउने हो भने पनि संक्रमितलाई केही राहत दिएर ज्यान बचाउन पनि सकिन्छ,’ श्रेष्ठले भने, ‘भेन्टिलेटर नै प्रयोग गरेपछि मान्छे नबाँच्न सक्छ भन्ने सोचका कारण आफन्तहरूले भेन्टिलेटर प्रयोग गर्न चाहँदैनन्, कतिपय अवस्थामा सोही कारण पनि मृत्यु हुने गरेको छ ।’

संक्रमितहरू २० वर्षदेखि ९० वर्षसम्मकाले ज्यान गुमाइरहेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार, २० देखि ३० वर्षसम्मका ५ जना, ३१ देखि ४० वर्षसम्मका ८ जना, ४१ देखि ५० वर्षसम्मका ११ जना, ५१ देखि ६० वर्षसम्म १० जना, ६१ देखि ७० वर्षसम्मका २१ जना, ७१ देखि ८० सम्मका १० जना र ८१ देखि ९० वर्षसम्मका ६ जनाले ज्यान गुमाएका छन् । ज्येष्ठ नागरिक, दीर्घरोग भएका र संक्रमण पुष्टि भएपछि पनि घरमा नै रहेकाको मृत्यु भएको उपचारमा संलग्न अस्पतालले जनाएको छ ।

अस्पतालमा उपचारका लागि बेड अभाव भएपछि होम आइसोलेसनमा रहन बाध्य जिल्लाका तीन संक्रमितको मृत्यु भएको छ । धुलिखेल–११, डाँडागाउँका २७ वर्ष र ५८ वर्षीय पुरुषको वैशाख २६ गते मृत्यु भएको हो । बुधबार मात्रै २ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार ५३ पुगेको छ । दुवै लहरमा गरी जिल्लामा ६ हजार २ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।