
रेल कार्यालयमा अागलागी, ९ काे मृत्यु
दक्षिणी छिमेकी देश भारतको कोलकातामा एउटा रेल कार्यालयमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । इस्टर्न रेलवेको कोलकातास्थित मुख्यालयमा सोमबार राति भएको आगलागीमा परी ९ जनाको मृत्यु भएको हो ।
१४ तले भवनको १३औं तलामा आगलागी भएको भारतीय सञ्चारमाध्यम द हिन्दूले जनाएको छ ।
सोमबार राति चार जना अग्निनियन्त्रकसहित ७ जनाको मृत्यु भएको थियो भने हराइरहेका २ जनाको शव मंगलबार बिहान भेटिएको थियो ।
सोमबार राति नै पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी र कोलकाता प्रहरीका आयुक्त सौमेन मित्रा घटनास्थल पुगेका थिए । मुख्यमन्त्री बनर्जीले मृतकका परिवारलाई राहतस्वरुप जनही १० लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् ।
