कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन सक्दैन : वर्षमान पुन

मूलखबर संवाददाता
तेह्रथुम, २ फागुन

नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध तेह्रथुममा आइतबार आयोजित सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले निर्वाचनमा ५० अर्ब खर्च हुने बताउनुभयो । पाँच वर्षसम्म सरकार चलाउन जनताले दिएको अभिमतमाथि घात गर्दै राज्यकोषबाट ५० अर्ब खर्च गराएर निर्वाचन गराउनु लोकतन्त्र नभएको उहाँको भनाइ थियो । निर्वाचनका नाममा बर्बाद पार्ने ५० अर्ब रुपैयाँले ७७ वटै जिल्लामा एक÷एकवटा अस्पताल निमार्ण गर्न सकिने वा सबै जनतालाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क लगाउन सकिने पुनले उल्लेख गर्नुभयो । ‘जनताले पाँच वर्ष चलाउन दिएको संसद विघटन गर्ने र ५०औं अर्ब खर्च गरेर चुनाव गर्छु भन्नु कुनै पनि तरिकाले लोकतन्त्रको पक्षमा छैन’, पुनले भन्नुभयो, ‘प्रधानन्त्रीजी तपाईं जनताप्रति जिम्मेवार हुनुहुन्छ ? ५० अर्ब खर्च गरेर गर्न खोजेको के हो ? कस्तो लोकतन्त्रको अभ्यास गर्न खोेको हो ?’

प्रधानमन्त्री ओलीले संविधान मिचेर जनताको अभिमतमाथि विश्वासघात गरी मुलुकलाई प्रतिगमन र अस्थिरताको बाटोमा हिंडाउन खोजेको भन्दै पुनले त्यसलाई सच्याउन प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेकामा जोड दिनुभयो । संविधानले सार्वभौमसत्ता र राजकीय अधिकार नेपाली जनतामा रहेको स्पष्ट गरेको भन्दै पुनले विगतमा राजामहाराजाले जसरी राजयकीय अधिकार आफूमा रहेको दाबी गर्नुले प्रधानमन्त्री ओलीमा रहेको निरंकुश चरित्र प्रकट गरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्रीका वकिलहरुले हुँदाहुँदा हिजो श्री ५ र श्री ३ मा भएको अधिकार प्रधानमन्त्रीसँग छ भनिरहेका छन्’, पुनले भन्नुभयो, ‘यो निरंकुश, स्वेच्छाचारी र लोकतन्त्रविरोधी तर्क हो । लोकतन्त्रमा सार्वभौमसत्ता र कार्यकारी अधिकार जनतामा हुन्छ ।’

पुनले संविधान, लोकतन्त्र र जनमत बचाउन आफूहरु आन्दोलनमा रहेको भन्दै दमन र बल प्रयोगको धम्की नदिन प्रधानन्त्री ओली र गृहमन्त्री रामबहादुर थापालाई चेतावनी दिनुभयो । ‘तपाईंहरुले ७० वर्षसम्म जनताले रगत÷पसिना बगाएर ल्याएको लोकतन्त्रमाथि प्रहार गर्नुभएको छ’, पुनले भन्नुभयो, ‘हामी क्रान्तिकारीहरुलाई बल प्रयोगको धम्की दिन बन्द गर्नुस्, हामी त्यस्ता धम्कीसँग डराउँदैनौं ।’ जनसमर्थन कमजोर भएपछि प्रधानमन्त्री र गृहमन्त्री धम्की र बल प्रयोगको भाषा प्रयोग गर्न थालेको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले आफूहरुको आमहड्तालका दिन २२ माघमा प्रचण्ड र माधव नेपाललाई सडकबाटै उठाउन प्रहरीलाई निर्देशन दिएको र २३ गते नारायणहिटी अगाडिबाट आन्दोलन गर्नेलाई चिडियाखानामा थुन्ने धम्की दिएको भन्दै पुनले त्यसको निन्दा गर्नुभयो । सेना र प्रहरीको घेरामा बसेर धम्कीको भाषा बोल्न बन्द नगरे आन्दोलन सफल भएका दिन ओली र थापालाई सडकमा घिसार्दा कसैले सुरक्षा नगर्ने पुनको चेतावनी थियो । फरक प्रसंगमा पुनले आफूहरुले विश्वास गरेर प्रधानमन्त्री र पार्टी अध्यक्ष स्वीकार गरेको व्यक्तिले संविधान, लोकतन्त्र र जनमतमाथि घात गरेका कारण आफूहरु जनताका बीचमा क्षमा माग्न आएको पुनले बताउनुभयो ।