केपी कामचलाउ प्रधानमन्त्री हुन्, अाेरिजिनल एमालेकाे नेता म हाे – माधव नेपाल

मूलखबर संवाददाता
काठमाडौं

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताएका हुन् ।

आफू प्रचण्डको कार्यकर्ता भनी ओलीले गरेको टिप्पणीको जवाफ दिँदै नेपालले ओरिजिनल एमाले केपी ओली नभई आफू भएको जिकिर गरे । एकीकरणपछि एमाले र माओवादी पार्टी इतिहास भइसकेको भन्दै उनले अब ती पार्टी नब्युँतिने बताए ।

आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ कि कामचलाउ भएको स्वीकार्नुपर्छ ।’

तर, केपी ओलीले पद छाड्दैनन्, हिक्कहिक्क भइञ्जेल बसिराख्छन्, यो पदको लोलुपता हो’, नेपालले थपे ।

ओलीले पद प्राप्तिका लागि प्रचण्ड र आफूलाई भर्‍याङ बनाएको उनले टिप्पणी गरे । नेपालले भनेका छन्, ‘मैले प्रधानमन्त्रीमा कस्तो मान्छेलाई प्रस्ताव गरेँ भन्ने लागि रहेको छ ।’

ओलीले नेताहरुलाई जालसाझी गरेर झुक्याउने गरेको नेपालको भनाइ छ । अर्को प्रसंगमा नेपालले आफू ओरिजिनल एमाले भएको बताए ।

‘ओरिजिनल एमाले म माधव नेपाल हो, केपी ओली होइन’, उनले भने, ‘मैले १५ वर्ष पार्टी चलाएको हो । मुल लिडरसिप बोकेको हो । पछि आएका केपी ओलीले आफ्नो स्वार्थ लागि पार्टी भत्काउने काम गरेका हुन् । त्यसकारण मुल एमाले म हुँ ।’

प्रचण्डसँग ४० वर्षदेखि संगत भएको बताउँदै उनले दुई जनाको सहकार्य लामो समयसम्म जाने समेत बताए ।