समाजवादी माेर्चा फेरि सक्रिय, सरकारकाे भण्डाफाेर गर्न माघ १६ गते सडक प्रदर्शन गर्ने

मूलखबर संवाददाता
काठमाडौं, ३ माघ

समाजवादी माेर्चा फेरि सक्रिय भएको छ । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेकाे गठबन्धनमा बनेकाे सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खाेजेपछि समाजवादी माेर्चा पुन सक्रिय देखिएकाे हाे ।

समाजवादी मोर्चाको बुधबार अपराह्न बसेको बैठकले सरकारको कदमविरुद्ध माघ १६ मा राजधानीमा प्रदर्शन गर्ने निर्णय गरेको छ । संसद्मा नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दको अध्यक्षतामा मोर्चाकाे बैठक बसेको हो । माेर्चाकाे बैठकले  सहिद दिवसका अवसरमा काठमाडौंमा हुने विरोध प्रदर्शनमा मोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने तय गरेको छ ।

बैठकमा सहभागी एक नेता नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठले संसद्मा रहेका र नरहेका विपक्षीबीच मोर्चाबन्दी गरेर सरकारका गलत कार्यको प्रतिवाद गर्ने निर्णय भएको बताए ।

बाबुराम भट्टराई नेतृत्वकाे पार्टीका विद्राेही नेता उनले भने ‘संसद्लाई छलेर अध्यादेशमार्फत शासन गर्नु लोकतान्त्रिक पद्धति होइन । समानुपातिकतर्फ थ्रेसहोल्ड ५ प्रतिशत राख्ने गरी विधेयकको मस्यौदा तयार गरिएको कुरा छ,’ उनले भने, ‘यसबाट नेपालमा दुई दलीय व्यवस्था ल्याउन खोजेको देखियो । विपक्षी दल सबैले यसको विरोध गर्ने निर्णय भएको छ ।’

समाजवादी माेर्चाले सरकारकाे गलत कदमकाे भण्डाफाेर गर्ने तथा जनपक्षीय एजेन्डामा सडकमा संघर्ष गर्ने रणनीति बनाएकाे छ ।