किम जोङ उन पार्टीको महाचिवमा निर्वाचित, चिनिया राष्ट्रपति सि ले दिए बधाई
उत्तर कोरियाको सत्तारूढ दल वर्कर्स पार्टीको महासचिवमा सर्वोच्च नेता किम जोङ–उन निर्वाचित भएका छन् । पार्टीको आठौं अधिवेशनले किमलाई महासचिवमा निर्वाचित गरेको हो ।
पार्टीको महासचिवका रुपमा उनभन्दा अगाडि उनका बुबा र त्योभन्दा अगाडि हजुरबुबाले नेतृत्व प्रदान गरेका थिए । पार्टीको महाधिवेशन र बैठकले किमलाई महासचिव बनाउने विषयमा सर्वसम्मत निर्णय गरेको समाचारमा जनाइएको छ ।
उत्तर कोरियाको सर्वोच्च नेता उत्तर कोरियाली सेनाको सर्वोच्च कमान्डरसमेत रहने व्यवस्था छ । त्यसबाहेक उनी राज्यका अरू पनि धेरै प्रमुख जिम्मेवारीमा रहेका छन् ।
उत्तर कोरियाको वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएकोमा किमलाई चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् ।
सीले सोमबार किमलाई बधाई सन्देश पठाउँदै आगामी कार्यकाल थप प्रभावकारी बनाउन शुभकामना पनि दिएका छन् । महासचिवका रूपमा किमसंगको सहकार्य पनि राम्रो हुने सीको विश्वास छ ।