केपीकाे कदम लाेकतन्त्र र संविधान विराेधी हाे, तर चुनावबाट नभागाैं – देउवा

मूलखबर संवाददाता
काठमाडौं, २६ पुस

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र र संविधानविपरीत प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित विरोध सभामा बोल्दै देउवाले ओलीको कदम प्रजातन्त्र र संविधान विरुद्धमा रहेको बताएका हुन्

उनले भने, ‘ओलीको प्रजातन्त्र विरुद्धको कदम हो यो र संविधानविरुद्ध कदम हो भन्‍ने लाग्दछ ।’

देउवाले संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्दा भएकाले अदालतले जुन निर्णय गरे पनि मान्नुपर्ने बताए । अदालतमा विचाराधिन मुद्दामा जुलुस निकालेर दबाब सिर्जना गर्न नहुने उनको भनाइ छ । जुलुसको आधारमा अदालतले निर्णय गर्ने नभई अदालतले विवेक पुर्‍याई संवैधानिक मूल्य र मान्यताअनुसार निर्णय गर्ने उनले बताए ।

अदालतले निर्वाचनमा जाने निर्णय गरेर प्रधानमन्त्री ओलीले निर्वाचन गराएनन् भने नेपाली जनताले ओलीलाई सडकबाटै हटाउन बाध्य हुने उनको भनाइ छ । निर्वाचन नगरे प्रधानमन्त्री ओलीलाई जनताले नेपालमा बस्नै नदिने अवस्था बनाउन सक्ने पनि देउवाले बताए । उनले निर्वाचन भयो भने निर्वाचनमा जान कांग्रेस तयार रहनुपर्ने धारणा राखे । जनतामा जाँदा केही नबिग्रिने भन्दै देउवाले सर्वोच्च अदालतभन्दा ‘ठूलो अदालत’ जनता भएकोले जनतामा जाने मौका आउँदा कांग्रेस भाग्नु नहुने उनको भनाइ थियो ।