राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा निरंकुशताको अभ्यास भयोः पुन
बुटवल, १७ पुस–
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले मुलुकमा निरंशुकता लाद्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफू मातहत राखेको खुलासा गर्नुभयो । संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको उहाँको भनाइ थियो ।
नेपालको सम्पूर्ण अर्थ व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि पुनले लगाउनुभयो । तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी उहाँको थियो ।
‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिंड्नुभएको छ’, नेकपा प्रचण्ड–माधव नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई बुटवलमा सम्बोधन गर्दै पुनले भन्नुभयो, ‘यो नेपालमा हो, राजामहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंशुकता धेरै दिन टिक्न दिँदैनौं ।’
गत ५ पुसको मन्त्रिपरिषद बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उहाँले मन्त्रिपरिषदबा बहुमत सदस्यको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको उल्लेख गर्नुभयो । नेता पुनले ओलीको असंवैधानिक कदममा राष्ट्रपतिले सहयोगी भूमिका खेलेर संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गर्नुभयो । ‘मन्त्रीहरुको असहमति र आपत्तिबीच प्रतिनिधिसभा विघटनको सिफारिस गरियो’, उहाँले भन्नुभयो, ‘राष्ट्रपति र प्रधानमन्त्रीको सेटिङमा प्रतिनिधिसभा विघटन भएको अब घामजत्तिकै छर्लङ्ग भएको छ ।’ फरक प्रसंगमा पुनले केन्द्रीय समितिको झण्डै दुई तिहाई र संसदीय दलमा बहुमत रहेकाले पार्टीको नाम नेकपा र चुनाव चिन्ह आफूहरुले पाउनेमा शंका नरहेको दाबी गर्नुभयो । ओलीको असंवैधानिक सरकार बढीमा चार महिना टिक्ने दाबी पनि उहाँको थियो ।