नेकपाले बोलायो सांसदलाई संसद भवनमा, ओलीले बोलाए बालुवाटार

मूलखबर संवाददाता
काठमाडौं, ६ पुस

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद विघटन गर्ने असंवैधानिक कदमको विरोध गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही सिफारिस गरेको नेकपाले आज सम्पूर्ण सांसदहरुलाई बानेश्वरस्थित संसद हलमा बोलाएको छ भने प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेकपाका ९० जना सांसदलाई सोमबार संसदको ल्होत्से हलमा जम्मा हुन निर्देशन दिइएको छ ।

आइतबार बसेको नेकपा स्थायी समिति बैठकले ती सांसदहरुलाई ल्होत्से हलमा जम्मा हुन निर्देशन दिएको हो । संसद विघटन हुनुअघि ९० जना सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

उता, प्रधानमन्त्री ओलीले पनि सोमबारै आफु निकट सांसदहरुलाई बालुवाटार बोलाएका छन् । संसद विघटनपछिको रणनीति तय गर्न प्रधानमन्त्री ओलीले आफु निकट सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । त्यस्तै संसदको ल्होत्से हलमा जम्मा भएका सांसदहरुले पनि ओली विरुद्धको रणनीति तय गर्ने जनाइएको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल लगायत ९० जना सांसदहरुले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।